विराटनगर : जति उमेर ढल्दै जान्छ त्यति नै शरीर गल्दै जान्छ। उर्जा निख्रिदै जान्छ। हातगोडा शिथिल हुन्छन्। तर, धुव्रकुमार विश्वकर्माको ६५ वर्षको उमेरमा पनि उर्जा उस्तै छ।
उनी विद्युतीय रिक्सा (सिटी सफारी) चालक हुन्।
सात वर्ष अगाडि देखि विद्युतीय रिक्सासँग जोडिएको उनको साइनो अझै बलियो छ।
रिक्सा घर गृहस्थी चलायमान राख्न देखि विराटनगर महानगरपालिका– ६ को नेतृत्वको बागडोर सम्हाल्ने धोको मार्न उनीसँगै सहयात्री बनेर दौडिरहेको छ।
उनी स्थानीय तह निर्वाचनमा वडा अध्यक्षका स्वतन्त्र उम्मेदवार हुन्।
सँधै जस्तो हुँदो हो त उनको सवारीमा यात्रुले भरिभराउ हुन्थ्यो। तर, पछिल्लो समय उनको दैनिकी फेरिएको छ। रिक्साको रौनक पनि फेरिएको छ। उनी बस्ने (चालक सिट) स्थानमा उनको छोरा हुन्छन्।
वरिपरी चुनावी प्रचार सामग्री टाँगिएको हुन्छ। उनीसँग ठूला दलका उम्मेदवारको जस्तो तामझाम र चर्काे स्वर छैन। छ त उनको सवारी र परिवार। आफूले नेतृत्वमा पठाएको नेताले ५ वर्षसम्म उल्लेखनीय काम नगरेको भन्दै उम्मेदवारी दिएको उनी बताउँछन्।
भीडले भरिएको माहोल छैन तर, आत्मविश्वास र आफैँ माथिकाे भरोसा छ। विराटनगरको तातो घाममा उनको शितल छहारी बनेर श्रीमतीले साथ दिएकी छिन्। अर्थात उनी श्रीमती र छोरालाई लिएर प्रचारमा हिँडेका छन्।
विपन्नको साथमा हुन्छु
उनीसँग भ्यू टावर निर्माण गर्ने, नेपाललाई स्वीट्जरल्याण्ड बनाउने ठूला सपनाका चाङ छैनन्। तर, दलित तथा पिछडिएका वर्गलाई सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने प्रतिवद्धता भने छ।
पछिल्लो समयको राजनीति आफूजस्ता गरिब र विपन्नहरूका हितमा नभएको बताउने उनी अब उत्पीडनमा परेका वर्गले दुःख पाउनु हुन्न भन्ने उद्देश्यले वडा अध्यक्षमा उम्मेदवारी दिएको उनी बताउँछिन्।
‘पछिल्लो समय राजनीतिलाई कमाई खाने भाँडोको रुपमा लियो नेतृत्वले, हामी जस्ता तल्ला वर्गको आवाज दबिएको दबिएकै भयो,’ उनले भने, ‘हामी जस्तो तल्लो वर्गको उठानका लागि भए पनि जितको अपेक्षा सहित विहान बेलुका भोट माग्दै हिँडिरहेको छु’
भोट किन्ने पैसा छैन
पैसा भए मात्रै चुनाव जित्न सकिन्छ भन्ने बुझेका उनी आफूसँग भोट किन्ने पैसा नभएको बताउँछन्। नेतृत्व सम्हाल्ने हिम्मतले उम्मेदवारी दिएको भए पनि पछिल्लो समय उनलाई एउटै कुराको चिन्ता छ। आर्थिक अभावका कारण चुनावमा असफल हुन्छु कि भन्ने।
‘मैले उम्मेदवारी त दिएँ, एउटै कुराको चिन्ता छ, मसँग पैसा छैन,’ उनी सुनाउँछन्, ‘यहाँ त पैसाको खेल हुने रहेछ हजुर, हामी जस्तो काम गरिखानेका लागि त गाह्रो हुने रहेछ तर, पनि हिम्मत हारेको छैन।’
उनीसँग १० धुर जग्गा, ५६८ नम्बरको विद्युतीय रिक्सा र परिवारको साथ बाहेक सम्पतिको नाममा केही छैन। त्यही रिक्सा पनि ०७२ मा बैंकबाट ऋण लिएर खरिद गरेको उनी सुनाउँछन्। उनी भन्छन्, 'त्यसको अझै ऋण चुक्ता गर्न सकेको छैन।’
यस्तै उत्तरचढावको बीचमा पनि नेतृत्वको पंक्तिमा उभिएका उनी जनताले जिताएर पठाए प्लाष्टिकको कुर्सीमा बसेर काम गर्ने बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।