प्रहरी र सेना परिचालन

|

धनगढी : सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख मोहन कुमार आचार्य पहाडतिर लागेका छन्। आचार्य धनगढीबाट सुरक्षाको अवस्था अनुगमन गर्न सुदूर पहाडतिर लागेका हुन्।

स्थानीय निर्वाचन नजिकिएसँगै प्रदेशको निर्वाचन सुरक्षा योजनाको निगरानी तथा अनुगमनका लागि डिआइजी आचार्य जिल्ला भ्रमणमा व्यस्त छन्।

‘पहाडका जिल्लाहरुमा जाँदैछु', उनले भने, ‘म सबै ठाउँ पुगेको छु। बझाङ, डडेल्धुरा, बैतडी, दार्चुला पुगेँ, आज म बाजुरा जाँदैछु। भोलि म दिपायल फर्किन्छु।’ उनी जिल्लाको प्रहरी नेतृत्वलाई सुरक्षा ब्रिफिङ गर्न जिल्ला दौडमा रहेका हुन्।

प्रदेशमा भयरहित वातावरणमा निर्वाचन गर्नका लागि तयारी तीब्र पारिएको हो। प्रदेशका ८८ वटै स्थानीय तहको निर्वाचनको सुरक्षा योजना पनि तयार पारिएको प्रदेश प्रहरी कार्यालयले बताएको छ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउनका लागि खटिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी भोला रावलले बताए।

‘सुदूरपश्चिममा ९ वटा जिल्ला र ८८ वटा स्थानीय तह छन्’, रावलले भने, ‘मतदान स्थल ११ सय ३७ र मतदान केन्द्र २१ सय तीन छन्। स्थानीय तह निर्वाचन विस्तृत सुरक्षा योजना बमोजिम प्रत्येक मतदान केन्द्रमा ६ हजार बढी नेपाल प्रहरी, १० हजार एक सय ६१ को संख्यामा म्यादी, प्रत्येक गाउँपालिकामा २ वटा मोबाइल र प्रत्येक जिल्ला प्रहरी कार्यालयमा दुई वटा रिजर्भ टोलीको व्यवस्था गरिएको छ।’

प्रदेशमा संविधान र निर्वाचनको विरोधी पार्टी तथा समूह नभएकाले सुरक्षा चुनौती नरहेको सुरक्षा अधिकारीले बताएका छन्। तर सम्भावित सुरक्षा जोखिमका लागि तयारी अवस्थामा रहेको सुरक्षा अधिकारीहरुको दाबी छ।

प्रदेश प्रहरी प्रवक्ता रावलले भने, ‘भारतसँग जोडिएको जिल्लामा आवतजावत हुनसक्ने भएकाले, ४८ घण्टा अगाडि बोर्डर सिल गर्ने तयारी छ।’

यस्तै नेपाली सेना वैशाख १ गतेबाट स्थानीय तह निर्वाचन लक्षित सुरक्षामा छ। प्रहरी र म्यादी प्रहरी पहिलो सुरक्षा घेरा, सशस्त्र प्रहरी दोस्रो र सेना तेस्रो घेरामा हुने छ। सेनाले मतदान स्थलसँगै मतपेटिका ढुवानीको सुरक्षा दिनेछ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता एसएसपी रावलले राजनीतिक दलहरूसँग पनि सुरक्षाका लागि छलफल गरिएको बताए। मतदान सकिएपछि पनि नेपाली सेना, सशस्त्र प्रहरी सहितको सुरक्षा व्यवस्था हुने उनले बताए।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले वैशाख १ गतेबाट सेना परिचालन गरिएको बताए। ‘स्थानीय निर्वाचन २०७९ को एकीकृत सुरक्षा योजना, जुन गृह मन्त्रालयको संयोजकत्वमा केन्द्रबाट बनेको छ। त्यसमा भएको व्यवस्थाअनुसार नेपाली सेनालाई दिएको जिम्मेवारीहरू हामीले बहन गर्दैछौँ,’ सेनाका प्रवक्ता सिलवालले भने।

चुनावका लागि राष्ट्रपतिबाट चैत मसान्तमा सेना परिचालनको अनुमति प्राप्त भएको उनले बताए।

सुदूरपश्चिम प्रदेशका ८८ पालिकामा प्रमुख, उपप्रमुख तथा ७ सय ३४ वडा अध्यक्ष र २ हजार ९३६ वडा सदस्य चयनका लागि वैशाख ३० मा निर्वाचन हुनेछ।

त्यसका लागि प्रदेशका झण्डै साढे १६ लाखले मतदान गर्न पाउने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.