|

बागलुङ : स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा बागलुङमा दलका उम्मेदवारले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्।

चुनावी सरगर्मी बढ्दै जाँदा उम्मेदवारहरुले आफ्नो पक्षमा भोट कसरी बढाउन सकिन्छ भनेर लागेका छन्। बागलुङमा अहिले उम्मेदवारहरूले आफू जनप्रतिनिधिमा निर्वाचित भएपछि पाउने सेवा सुविधा सामाजिक काममा लगाउने घोषणा गर्न थालेका छन्।

पाँचदलीय गठबन्धनको तर्फबाट बागलुङ नगरपालिकामा नगर प्रमुखको उम्मेदवार बनेका बसन्तकुमार श्रेष्ठ र राजु खड्काले घोषणापत्रमै उल्लेख गरेर जनप्रतिनिधिको रूपमा आफूहरुलाई आउने भत्ताबाट आपतकालीन सहयोग कोषको स्थापना गर्ने बताएका छन्। उनले त्यो रकम गम्भीर मानवीय समस्यामा परेका व्यक्तिहरूलाई उपलब्ध गराउने घोषणा गरेका छन्। ‘पारिवारिक रूपमा सबै व्यवस्थापन गरेर हामी राजनीतिमा आएका हौँ,’ नगरप्रमुख पदका श्रेष्ठले भने, ‘राजनीति पेसाभन्दा पनि सेवाको रूपमा विकास गर्नु पर्छ भनेर घोषणा पत्रमै उल्लेख गरेका हौँ।’

गठबन्धनबाट उपमेयर उम्मेदवार बनेका राजु खड्काले राजनीति महँगो हुँदै गएकोमा चिन्ता व्यक्त गरे। ‘मसँग धेरै सम्पत्ति भएको भएर मैले तलब भत्ता सामाजिक काममा लगाउँछु भनेको होइन,’ उनले भने, ‘राजनीति निकै महँगो हुँदै गएको छ। मैले निर्वाचन जितिसकेपछि पनि कार्यालयमा नीतिगत काममा लागि केही दिन र धेरै जनताको माझमै बस्ने घोषणा गरेको छु । जनताको घरमा बस्ने जनताको काम गर्ने जनतासँगै खाने हो।’

काठेखोला गाउँपालिकामा गठबन्धनका तर्फबाट पालिका अध्यक्षमा उम्मेदवार बनेका राजु थापाले पनि सेवा सुविधा दिन दुःखीको सेवामा लगाउने घोषणा गरेका छन्।‘मैले आफ्नो परिवारको खर्च चल्नेगरी केही व्यवसायमा लगानी गरेको छु, छोराहरुको पनि राम्रो सहयोग छ,’ थापाले भने, ‘जनप्रतिनिधि निर्वाचित हुँदा राज्यकोषबाट आउने सुविधा विपन्न नागरिकका लागि खर्च गर्ने योजना बनाएको छु ।’ थापा बेल्जियममा गरिरहेको व्यवसाय छोडेर नेपाल आई गाउँपालिका अध्यक्ष पदमा उम्मेदवारी दिएकाहुन्।

गलकोट नगरपालिकामा एमालेको तर्फबाट मेयरको उम्मेदवार बनेका पूर्ण काउचाले पनि तलब भत्ता सामाजिक र दीन दुःखीको सेवामा लगाउने घोषणा गरे । ‘लामो समय विदेशमा बस्दा आर्जन गरेको केही रकम व्यवसायमा लगानी गरेको र परिवारका अन्य सदस्य पनि काममा जोडिएकाले आफूलाई समस्या नभएको उनी बताउँछन्।

‘परिवारका अन्य सदस्यहरुले पनि काम गर्छन्, मेरो आमाको पेन्सन छ,’ उनले भने, ‘मैले पनि केही काममा लगानी गरेको छु, सरकारी तलबभत्ताको भर पर्नु पर्दैन।’ गत निर्वाचनमा काठेखोला गाउँपालिका–१ पालामा वडाध्यक्ष निर्वाचित भएर तलब भत्ताबाट गर्भवती र सुत्केरी महिलालाई पोषण सामग्री वितरण र विद्यालयमा कोष निर्माण गरेका खडकबहादुर थापाले यस पटक पनि आफू निर्वाचित भएर त्यसरी नै तलब भत्ताको सदुपयोग गर्ने बताए।

‘राजनीति त मूलरूपमा जनताको सेवा नै हो, गत निर्वाचनमा निर्वाचित भएपछि आएको सेवा सुविधाको रकमबाट पनि मैले केही रकम पोषण सामग्री वितरण र केही विद्यालयमा कोष निर्माणका लागि खर्च गरेको छु,’ थापाले भने, ‘दुई लाख १६ हजार रुपैयाँभन्दाबढीको कोष बनाएको छु, अब पनि निर्वाचित भएपछि पाउने सेवा सुविधाको यस्तै काममा उपयोग गर्नेछु।’

वडासदस्य हुँदा पाएको तलब भत्ताले वडाभरका विद्यालयका विद्यार्थीलाई पोशाक र शैक्षिक सामग्री वितरण गरेका जैमिनी नगरपालिका वडा नम्बर ७ का केन्द्र रसाइली अहिले वडाध्यक्ष उम्मेदवार बनेका छन्। वडाध्यक्ष निर्वाचित भएपछि पाउने सेवा सुविधा पहिलेकै जसरी उपयोग गर्ने सोचमा उनले बताए। 

‘मैले जनप्रतिनिधि हुँदा सरकारी कोषको पैसाबाट पानी पनि पिउँदिन भनेको छु,’ उनले भने, ‘अघिल्लो पटक विद्यालय र विद्यार्थीको लागि सहयोग गरेका थिए । यस पटक निर्वाचित भए भने अघिल्लो पटकभन्दा धेरै रकम पनि आउँछ, त्यसलाई गरिब असहायको हितमा खर्च गर्छु, मलाई आउने सेवा सुविधाले भ्याउने सामाजिक क्षेत्रमा लगाउँछु।’

बागलुङ नगरपालिका ३ का शनि केसी (लक्ष्मण)ले पनि तलब भत्ता सामाजिक सेवामा लगाउने बताएका छन्। काठेखोला गाउँपालिकामा एमालेबाट अध्यक्ष उम्मेदवार डिलबहादुर कार्कीले सामाजिक सञ्चालनबाट सोही घोषणा गरेका छन्। उनीहरू सबैले आफ्नो परिवारको जीविकोपार्जनका लागि अन्य पेशा व्यवसायसँग जोडिएकाले जनप्रतिनिधि हुँदा गलत काम नगर्ने प्रतिबद्धता जनाए।

उम्मेदवारले सरकारी सेवा सुविधा नलिने घोषणा गरिहँदा सर्वसाधारण भने यसलाई भोट तान्ने काइदाका रूपमा बुझ्छन्। सरकारी तलबभत्ता नलिने भन्ने भ्रष्टाचार गरेर कमाउने प्रवृत्ति घातक हुने उनीहरू बताउँछन्। भ्रष्टाचार र चुहावट रोक्ने भने जनताको काम गरेर तलब भत्ता लिँदा कुनै फरक नपर्ने बताउँछन्। अघिल्लो चुनावमा निर्वाचित भएका केही जनप्रतिनिधिले चुनावअघि सरकारी सेवा सुविधा नलिने प्रतिबद्धता जनाए पनि निर्वाचित भइसकेपछि पूरा नगरेको पाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.