|

काठमाडौं : वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा हरेक मतदानस्थलमा एकजना स्वास्थ्यकर्मी खटाइने भएको छ।

देशभरका हरेक मतदानस्थलमा एकजना स्वास्थ्यकर्मी खटाउने निर्णय भएको हुनाले सोही संख्यामा स्वास्थ्यकर्मी खटिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपत्‌कालीन तथा विपद् व्यवस्थापन एकाइ प्रमुख डा. समीर अधिकारीले बताए।

‘हालसम्म हरेक मतदान केन्द्रमा एकजना स्वास्थ्यकर्मी राख्ने निर्णय भएको छ। यसरी खटिने स्वास्थ्यकर्मीले प्राथमिक स्वास्थ्य सेवा प्रदान गर्नुका साथै जनस्वास्थ्यका मापदण्ड पालना गर्न प्रेरित गर्नेछन् भने थप अन्य स्वास्थ्य सेवाको आवश्यकता पर्ने अवस्था आए नजिकका स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गर्नेछन्’‚ उनले भने।

सेवा नै बन्द गरेर स्वास्थ्यकर्मीलाई निर्वाचनमा नखटाएको हुँदा मतदान केन्द्रबाट नजिक पर्ने स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा सञ्चालन नै हुने हुँदा थप सेवा दिनुपर्ने अवस्था आएको अवस्थामा मतदानस्थलमा खटिने स्वास्थ्यकर्मीले आवश्यकताकाआधारमा सोही स्वास्थ्य संस्थासँग समन्वय गर्ने समेत डा. अधिकारीले बताए।

यसरी खटिने स्वास्थ्यकर्मीले मतदान केन्द्रमा खटिएका कर्मचारीहरूलाई समेत सेवा गर्ने उनले बताए। ‘त्यसरी खटिने स्वास्थ्यकर्मीले मतदान अधिकृतसँग समन्वय गरी मतदान केन्द्रमा आइपर्ने आकस्मिक स्वास्थ्य समस्यालाई सहजीकरण गर्नेछन् र थप सेवा दिनुपर्ने अवस्था आए मतदानस्थलबाट नजिकै पर्ने स्वास्थ्य संस्थाहरूसँग समन्वय गर्ने जिम्मेवारी पनि त्यसरी खटिने स्वास्थ्यकर्मीलाई दिएको छ’‚ उनले भने।

यसरी खटिने स्वास्थ्यकर्मीसँग मास्कदेखि प्राथमिक उपचारमा आवश्यक पर्ने स्वास्थ्य सामग्री समेत रहने उनले बताए।

यस्तै कोरोना संक्रमणको जोखिम कायमै रहेको अवस्थामा मतदानस्थलमा जनस्वास्थ्यको मापदण्ड पालना गर्न कडाइ साथ पालना गर्न आग्रह गरिने समेत उनले बताए।

‘हामीसँग अहिले पनि कोरोना संक्रमणको जोखिम छ। यस्तो अवस्थामा कसरी जनस्वास्थ्यको मापदण्ड पालना कडाइका साथ लागू गराउने पनि हामीले निर्णय गरेका छौँ’, उनले भने।

कोभिड १९ को जोखिमलाई पनि ध्यानमा राख्दै मन्त्रालयले यदि कसैले कोरोनाविरुद्धको खोप नलगाएको भए आफ्नो नजिकैको स्वास्थ्य संस्थामा गएर कोरोना खोप लगाउन समेत उनले आग्रह गरे।

निर्वाचन आयोगका अनुसार हाल देशभर २१ हजार ९५५ वटा मतदान केन्द्र रहेका छन्।

यता निर्वाचन आयोगले निर्वाचनका दिन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमन लागि प्रयोग हुने साधन, अस्पतालमा कार्यरत स्वास्थ्य संस्थाको परिचयपत्र आधारमा सवारी चलाउन पाउने व्यवस्था समेत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.