|

विराटनगर : विराटनगर महानगरपालिकाको उपप्रमु्ख पदमा नेकपा एमालेबाट उम्मेदवार बनेकी शिल्पा निरौला कार्कीको उम्मेदवारी खारेज गर्न माग गर्दै दायर रिटको सुनुवाई आज हुने भएको छ।

कार्कीले किर्ते कागजात पेश गरेकोले उम्मेदवारी खारेज गर्न माग गर्दै सर्वोच्चमा अदालतमा दायर भएको रिटमाथि अन्तरिम आदेश दिने कि नदिने भन्ने निर्णय आजको इजलासले गर्नेछ। उम्मेदवारी खारेज गर्न माग दायर रिटको सुनुवाई सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासमा परेको छ। 

यसअघि वैशाख २२ गते न्यायाधीश हरिप्रसाद फुयाँलको इजलाशले रिटमाथि सुनुवाई गर्दै अन्तरिम आदेशबारे दुवै पक्षसँग छलफलपछि निर्णय गर्ने आदेश गरेको थियो। दुवै पक्षलाई राखेर छलफलपछि अन्तरिम आदेश गर्ने कि नगर्ने भन्ने निर्णय गर्नुपर्ने भन्दै फुयाँलको इजलासले आजको पेशी तोकेको थियो। 

फुयाँलको इजलासले रिटको पूर्ण सुनुवाइको लागि १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीको नाममा आदेश गरिसकेको छ। उम्मेदवार कार्कीले बुझाएको किर्ते राजीनामाको कागजातको आधारमा जानाजान मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी सदर गराएको भन्दै उम्मेदवारी बदर गराउन जसपाबाट उपमेयरको उम्मेदवार भएका अमरेन्द्र यादवले रिट दर्ता गरेका हुन्।

 निर्वाचन आयोगले आफैं आचारसंहिताको निर्देशिका उल्लंघन गरेर कार्की विरुद्धको उजुरी सुनुवाई नगरेको भन्दै रिटमा आयोगलाई पनि विपक्षी बनाइएको छ । 

कार्कीले कोशी अस्पाताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिइ उम्मेदवारी दिएको भन्दै विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यादवले उम्मेदवारी खारेजी माग गर्दै उजुरी दिएका थिए । निर्वाचन कार्यालयले उजुरीकर्ताको माग दाबी नपुगेको भन्दै कार्कीको उम्मेदवारी सदर गराएपछि यादव न्याय खोज्दै सर्वोच्चसम्म पुगेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.