|

म्याग्दी : पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङमा गएराती भएको कुटपिटबाट आठ जना घाइते भएका छन्।

निर्वाचनमा आफ्नो पक्षमा मत नदिएको भन्दै नेकपा एमाले समर्थक युवाहरुले नेपाली कांग्रेसका कार्यकर्तालाई कुटपिट गरेको नेपाली कांग्रेसले आरोप लगाएको छ।

मध्यरातमा आफ्नो पक्षमा मत नदिएको भन्दै पोखराबाट आएकाको नेतृत्वमा कुटपिट गर्दा स्थानीय झग छन्त्याल, रस्मी छन्त्याल, खिम छन्त्याल, सनम छन्त्याल, द मति छन्त्याल, बालकुमारी छन्त्याल, दिलकुमारी छन्त्याल र खिमसरा छन्त्याल लगायत घाइते भएको वडा अध्यक्षका प्रत्यासी अमर छन्त्यालले बताए।

‘मलाई कुटपिट गर्न खोज्दै आएको अवस्थामा उहाँहरूलाई कुटिएको छ’, उनले भने, ‘हामीले प्रहरीलाई जानकारी गराइसकेका छौँ।’

उनका अनुसार घटनामा नेकपा एमालेका समर्थकहरूले आफ्नो पक्षमा भोट नदिएको भन्दै केही पुरुष समेत कुटपिट गरेका थिए। मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको अवस्थामा मध्यरातमा अराजकता देखाइएको भन्दै महिला र गाउँलेलाई कुटपिट गर्ने विरुद्ध किटानी जाहेरी समेत दिने बताए।

 कुटपिटबाट घाइते भएकी झग छन्त्यालका अनुसार महिलाहरूलाई समेत हातपात गरेपछि गाउँ नै आतंकित भएको छ।

‘निर्घात कुटपिट गरेका छन्,‘सम्झाउन जानेलाई समेत कुटे, हामीले सबै घटनाका बारेमा प्रहरीलाई भनिसकेका छौँ’, उनले भने। उनले दोषीलाई कारबाही गर्न माग गरेका छन्। कुटपिटबाट घाइते भएकाको स्वास्थ्य चौकीमा उपचार गरिएको थियो। घटनाका बारेमा कुटपिटको आरोप लगाइएको नेकपा एमाले वडा कमिटीले भने कुनै प्रतिक्रिया दिएको छैन।

यता जिल्ला प्रहरी कार्यालयले शनिबार बिहानसम्म पीडित पक्षले प्रहरीमा उजुरी नदिएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.