|

गुल्मी :  गुल्मीका धुर्कोट र रुरुक्षेत्र गाउँपालिकामा विवादका कारण रोकिएको  मतगणना शुरु हुने भएको छ। धुर्कोट गाउँपालिका वडा नम्वर ४ मा कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवारमाथि माओवादी समर्थक कार्यकर्ताले आक्रमण गरेपछि विवाद चुलिएको थियो।

कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार गोपाल थापासहित अन्य २ जना घाइते छन्।  शुक्रबार मतदान सकिएपछि माओवादी समर्थक कार्यकर्ताले थापामाथि आक्रमण गरेका थिए। सर्वदलीय बैठकबाट साँझ ८ बजेबाट मतगणना गर्ने सहमति भएको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन्।

धुर्कोटमा नेकपा एमाले र माओवादीबीच गठबन्धन रहेको छ भने नेपाली कांग्रेस र एकीकृत समाजवादीबीच तालमेल भएको छ। एमाले र माओवादीबाट माओवादीका भुपाल पोखरेल, कांग्रेस र समाजवादीबाट कांग्रेसका महेन्द्र  भण्डारी अध्यक्षको  चुनावी मैदानमा छन्।

रुरुक्षेत्र गाउँपालिकामा पनि मतगणना अहिले ७ बजे शुरु गर्ने सहमति भएको छ।  शुक्रबार मतदान सकिएपछि  कांग्रेस माओवादीको गठबन्धनका कार्यकर्ताले एमालेका राजु ज्ञवालीलाई कुटपिट गरेपछि  मतगणना शुरु हुन सकेको थिएन।

सर्वदलीय  बैठकमा मतगणना अगाडि बढाउने सहमति भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। घटनामा संलग्न रहेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.