|
फाइल फोटो

काठमाडौं : नेकपा एमालेले पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचनमा योजनाबद्ध रूपमा धाँधली गरेको आरोप लगाएको छ। एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित हुनुपर्नेमा गठबन्धनले जसरी पनि जित्न धाँधलीका साहारा लिएको बताएका हुन्। 

सत्ता गठबन्धनले लोकतन्त्रको र लोकतान्त्रिक अभ्यासको खिल्ली उडाएको उल्लेख गरेका छन्। मोर्चाबन्दीले नपुगेर धाँधलीमा उत्रेको ‘योजनाबद्ध धाँधली’लाई सत्ता गठबन्धनले निरन्तरता दिइरहेको हुँदा यस्तो कार्य तत्काल रोक्न सरकारसँग माग गरेको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘पुनः मतदान र मतगणनाको लागि नेकपा (एमाले)ले दिएको उजुरीउपर गम्भीरतासाथ ध्यान दिई कार्यान्वयन गर्न र हामीले वैशाख ३० लगायत विभिन्न मितिमा केन्द्रीय कार्यालयको तर्फबाट र सम्बन्धित उम्मेदवारहरूले सम्बन्धित पालिकाको निर्वाचन अधिकृत र आयोगसमक्ष दिएका दिएको निवेदनअनुसार निष्पक्ष तबरले पुनः मतदान गराउने र मतगणना गराउन आग्रह गर्दछ।’

निर्वाचन सुरु हुनुभन्दा अगाडि

निर्वाचनलाई प्रभावित गर्न सत्ता गठबन्धनलाई सहयोग हुने गरी गृह प्रशासनद्वारा र प्रहरी तथा कर्मचारीहरू खटाएको। 

हाम्रा मतदातालाई हतोत्साह गर्न अघिल्ला दिन गिरफ्तार गर्ने र मतदान पछि मात्र छाड्ने कार्य गरियो । निर्वाचन अगाडि एमाले कार्यकर्तालाई अपहरण र पूर्व रुकुम तथा ताप्लेजुङमा एमाले कार्यकर्ताको हत्या गर्ने कार्य भएको र ताप्लेजुङमा मृत्यु भएका एमाले कार्यकर्ताको पोष्टमार्टम गर्न समेत नगरी त्यसै राखिएको। 

मौन अवधिमा बुटवल लगायतको स्थानमा नेकपा (एमाले)का उम्मेदवारलाई हतोत्साहित गर्ने र मतदातालाई अनुचित प्रभाव पार्ने उद्देश्यले उम्मेदवारको गाडी खानतलासी गर्ने, उम्मेदवारलाई पक्राउ गर्ने, उम्मेदवारका परिवारका सदस्यलाई प्रचारात्मक रुपमा घेराबन्दीमा पार्ने, गिरफ्तार गरेको प्रचार गर्ने लगायतको हतकण्डाको प्रयोग गरी अर्कोतिर सत्ता गठबन्धनबाट हाकाहाकी पैसा बाँड्ने काम हुुँदा समेत रोक्न कुनै सार्थक प्रयास गरिएन।

मतदानको समयमा

निर्वाचन परिणामलाई सत्ता गठबन्धनको पक्षमा पार्नका लागि दोलखाको बैतेश्वर, तामाकोशी, सिन्धुपाल्चोकको मेलम्ची, सिन्धुलीको सुनकोशी, काभे्रको पाँचखाल, बाराको पचरौता, अछामको साँफेबगर, पञ्चदेवल बिनायक, मंगलसेन, बझाङको छबिस पाथिभेरा, सर्लाहीको धनकौल, बलरा, रामनगर, बागमती, बरहथवा, रौतहटको करुनिया लगायत दर्जनौं स्थानमा बुथ कब्जा गर्ने कार्य भयो। 

उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ मा साँझ ५ बजेपछि मतदान केन्द्रमा प्रवेश नगरेको मतदातालाई घरघरबाट ल्याई कानुनविपरीत मतदान गराउन खोज्दा प्रतिवाद भएपछि मतगणना नै नगरी रोकी राखिएको छ। प्रहरीलाई मतदान स्थल छाडेर भगाउने, कर्मचारीलाई समेत मुचुल्का नगरी मतदान स्थल छाड्न निर्देशन दिने गरी गृह प्रशासनको चरम दुरुपयोग भइरहेको छ। 

पहिलो घेराको सुरक्षा गर्ने जिम्मा पाएको नेपाल प्रहरी हिँडेपछि सेनाको सुरक्षा घेरामा मुचुल्का सम्पन्न गरेकोमा निर्वाचन रोक्न सत्ता गठबन्धनले बाजुराको बुढीगंगा, बुढीनन्दा र खप्तडा छेडाछारमा नांगो नाच गरिएको छ। 

निर्वाचन सम्पन्न भई मतगणना स्थलमा बाकस पुुर्याउन जाने क्रममा उम्मेदवार प्रतिनिधिलाई मतपेटिका राखिएको सवारी साधनमा साथै जान रोक लगाइएको छ। कतिपय स्थानमा सुरक्षित राखिएको बाकसको सिल तोडिएको समेत पाइयो। 

निर्वाचनको दिन मतदान सुरु हुने क्रममा बनाएको मुचुल्कामा हस्ताक्षर गराउँदा मतदान सम्पन्नको मुचुल्कामा समेत एकै पटक हस्ताक्षर गराई धाँधली गर्ने कार्य गरियो। 

निर्वाचनमा कर्मचारी खटाउँदा नेपालगञ्ज महानगर लगायतका केही स्थानमा पूर्व तयारीसाथ प्रहरीदेखि अन्य कर्मचारीसमेत गठबन्धनको पक्षधरलाई राख्ने जस्ता कार्य भए। 

स्वच्छ निर्वाचन गर्न केही स्थानमा पुनः मतदानको माग भएको छ । केही स्थानमा मतगणना गर्दा खसेको मत भन्दा बढी मत बाकसमा फेला परेको, कतिपय स्थानमा मतदान अधिकृतले मतपत्रमा हस्ताक्षर नगर्ने, गलत स्थानमा हस्ताक्षर गर्ने कार्य भए। 

मतगणनाको समयमा

मत गणना गर्दा सत्ता गठबन्धनलाई फाइदा पुुग्ने गरी उम्मेदवार भएको र नभएको दुई निर्वाचन चिन्हमा मतदान गरेकोमा सो मतपत्रको सम्बन्धित मत बदर हुनुपर्नेमा सदर गर्ने कार्यसमेत गरिएको छ। 

मतगणना स्थलमा कानुनविपरीत सत्ता गठबन्धन पक्षधर उम्मेदवारको मतलाई सदर गर्ने र नेकपा (एमाले) पक्षधर उम्मेदवारको मत बदर गर्ने गरी फरक–फरक मानक बनाई पक्षपातपूर्ण व्यवहार गरेको, सोको प्रतिवाद गरी पुनः मतगणनाको निवेदन दिँदा लिन अस्वीकार गरेको, लमजुुङको मध्यनेपाल नगरपालिकाको मतगणना स्थलबाट मतगणना प्रतिनिधिलाई हटाई एकलौटी मतगणना गरिंदैछ। 

मतगणनाको क्रममा काठमाडौंको चन्द्रागिरि वडा नं. ३ र ४ लगायतका स्थानमा खसेको मतभन्दा बढी मत बाकसमा देखिएपछि पुनः मतदानको माग गर्दा अस्वीकार गरी निरन्तर मतगणना जारी राखेको। 

मत गणना कार्य छिटो छरितो हुनुपर्नेमा अनावश्यक ढिलाई गर्ने कार्य भइरहेको छ। हामी मतगणना शीघ्र सम्पन्न गर्न र मतगणनाको क्रममा हुने धाँधली र अनियमितता नियन्त्रण गर्न निर्वाचन आयोगसमक्ष माग गर्दछौं। 

मतगणना गर्दा सत्तापक्षले गरेको पुनः मतगणनाको मागलाई तत्कालै स्वीकार गर्ने र नेकपा (एमाले)ले गरेको मागलाई बेवास्ता गर्ने कार्य भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.