|

पर्वत : २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा जलजला गाउँपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेपाली कांग्रेसले जित हात पारेको थियो। गाउँपालिकाको प्रमुखमा कांग्रेसबाट यामबहादुर मल्ल (रामकृष्ण) र एमालेबाट लालबहादुर अधिकारीले प्रतिस्पर्धा गरेका थिए।

 मल्ललाई तीन हजार सात सय २३ मत आउँदा अधिकारीलाई तीन हजार ७८ मत प्राप्त भए। उनीहरूको मतान्तर छ सय ४५ रहेको थियो।

यस पटकको स्थानीय तहको निर्वाचनमा पनि एमालेबाट उनै अधिकारी चुनावी मोर्चामा छन् भने कांग्रेसबाट राजु आचार्य। यो समाचार तयार पार्दासम्म गाउँपालिकाका नौ ओटा वडामध्ये छ वटाको मतगणना पूरा भएको छ।

वडा-१ देखि ५ सम्म लगातार एमालेले जित्दै आएकोमा वडा-६ ले गठबन्धनको विरासत धानिदिएको छ। जहाँ कांग्रेसका उम्मेदवार बल बहादुर पुर्जा पुनले एमालेका भक्त बहादुर पुर्जा पुनलाई ५० मतान्तरले पराजित गरेका छन्।

बल बहादुरको पक्षमा पाँच सय ५४ मत पर्दा भक्त बहादुरलाई पाँच सय पाँच मत आएका छन्। सोही पदमा नेकपा(एकीकृत समाजवादी) का लालवीर पुनले ८८, मंगोल नेशनल अर्गनाइजेसनका किमन पुनले आठ र राष्ट्रिय प्रजातन्त्र पार्टीका छविलाल पुन मगरले चार मत पाएका छन्।

वडाध्यक्षमा कांग्रेसले जीत हात पारेको भए पनि दलित महिला सदस्य बाहेकका दुई जना खुल्ला सदस्य र एक जना महिला सदस्यमा भने एमालेकै उम्मेदवारहरू निर्वाचित भएका छन्। उनीहरू क्रमशः लक बहादुर पुर्जा, दीपक पुन र केशु कुमारी सुवेदी रहेका छन्। दलित महिला सदस्यमा भने कांग्रेसबाट गुमा कुमारी सार्की निर्वाचित भएकी छिन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा-१ मा एमालेका तुलसीराम रेग्मी, वडा-२ मा कांग्रेसका गोविन्द खत्री, वडा-३ मा कांग्रेसका देविन्द्र बहादुर भण्डारी, वडा-४ मा कांग्रेसका भीष्म मल्ल, वडा-५ मा एमालेका तिलक बहादुर जि।सी, वडा-६ मा एमालेका हम बहादुर फकामी पुन, वडा-७ मा माओवादीका टुंगनाथ शर्मा, वडा-८ मा कांग्रेसका हरि विकास जि।सी र वडा-९ मा माओवादीका गौ बहादुर पुर्जाले जितेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.