|

पर्वत : पर्वतको फलेवास नगरपालिका–३ शंकरपोखरीमा कांग्रेस–माओवादीको प्यानल नै विजयी भएको छ।
सोमबार बिहान सम्पन्न वडाको मतगणना अनुसार वडाध्यक्षमा कांग्रेसका अर्जुनबहादुर कार्कीले एमालेका उम्मेदवार नारायण प्रसाद भुसाललाई पाँच सय ३० मतको अन्तरले पराजित गरेका छन्। कार्कीको पक्षमा एक हजार तीन सय ३६ मत आउँदा एमालेका भुसाललाई आठ सय छ मत मात्रै प्राप्त भएका छन्।

कार्की २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसबाट वडाध्यक्षमा विजयी भएका थिए। त्यो बेलामा उनले एमालेका उम्मेदवार बाबुराम सुनारलाई दुई सय १७ मतले पराजित गरेका थिए। उक्त निर्वाचनमा कार्कीलाई सात सय १३ मत आउँदा सुनारलाई चार सय ९६ मत परेका थिए।
यस पटकको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा नै उम्मेदवारी दिएका राष्ट्रिय जनमोर्चाका सूर्य प्रसाद भुसाललाई सात मत आएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्ण बहादुर सुनारले छ मत प्राप्त गरेका छन्। पाँच दलीय गठबन्धन अन्तर्गत शंकरपोखरीमा कांग्रेस र माओवादीले मात्रै सहकार्य गरेका थिए।

दुई जना खुल्ला सदस्य पदमा एक हजार तीन सय तीन मत सहित कांग्रेसका मोती प्रसाद भुसाल र नेकपा माओवादी केन्द्रका कुल बहादुर बि.क नौ सय ५१ मत पाएर निर्वाचित भएका छन्। उनीहरूसँग एमालेका गोविन्द प्रसाद पंगाली, रामबहादुर कार्की र जनमोर्चाका गणेश प्रसाद भुसाल पराजित भएका छन्। महिला सदस्य पदमा कांग्रेसकी निर्मला कुमारी शर्मा एक हजार दुई सय ५९ मत सहित निर्वाचित हुँदा एमालेकी सम्झना भुसाल पराजित भएकी छिन्। दलित महिला सदस्यमा कांग्रेसकी देवी कुमारी बि.क एक हजार दुई सय ३० मत सहित निर्वाचित भएकी छिन्।

फलेवास नगरपालिकाको प्रमुख पदमा कांग्रेसबाट उम्मेदवार रहेका गंगाधर तिवारीको वडा पनि शंकरपोखरी नै हो। यही कारण पनि शंकरपोखरीमा एमालेका मत समेत कांग्रेसका मेयरका लागि क्रस भएका छन्। शंकरपोखरीमा मात्रै तिवारीले एक हजार पाँच सय १८ मत प्राप्त गर्दा एमालेबाट नगर प्रमुखको दौडमा रहेका पदमपाणी शर्माले छ सय ८८ मत पाएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.