|

काठमाडौं : बागमती प्रदेशका १२ जिल्लामा कांग्रेसकै वर्चस्व देखिएको छ। मत परिणाम आइसकेका ४१ स्थानमा कांग्रेस विजयी भएको छ। एमालेले २० स्थानमा जित्दा १९ स्थानमा माओवादी केन्द्रले बाजी मारेको छ। एकीकृत समाजवादीले ३ स्थानमा जित्दा राप्रपा र नेमकिपाले पनि १/१ स्थानमा आफ्नो प्रभुत्व जमाएका छन्।

सिन्धुली जिल्लामा माओवादीले ४ पालिका जित्दा ३ पालिका कांग्रेसले र २ स्थानमा एमाले विजयी भएको छ। रामेछापमा रहेका ७ पालिकामा कांग्रेसले ३ पालिका जित्दा एमाले र माओवादी केन्द्रले २/२ पालिका जितेको छ।

चितवनमा रहेका ७ वटा पालिकामा निर्णय भएका ४ वटा स्थानीय तहमा एमालेले ३ र कांग्रेसले एउटा पालिका जितेको छ। भरतपुरको मतगणना जारी छ। ललितपुरका ६ स्थानीय तहमा गोदावरी नगरपालिका, महाङ्काल र बागमती गाउँपालिका कांग्रेसले जित्दा कोन्ज्योसोम गाउँपालिका एमालेले आफ्नो पक्षमा पारेको छ। ललितपुर महानगर र महालक्ष्मी नगरपालिकाको गणना जारी छ।

काठमाडौंका ११ वटा स्थानीय तहमा टोखा र बूढानीलकण्ठ नगरपालिका एमालेले जित्दा तारकेश्वर, गोर्कणेश्वर, कीर्तीपुर, दक्षिणकाली नगरपालिकामा कांग्रेस विजयी भएको छ। शंखरापुर नगरपालिकामा राप्रपा विजयी भएको छ। एमालेलाई पार्टी फुटले असर परेको छ। त्यहाँ समाजवादी र एमाले आपसमा जुध्दा राप्रपालाई फाइदा भएको छ।

सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये ५ वटा कांग्रेसले जित्दा माओवादी केन्द्रले ४ र एमालेले २ स्थानीय तह जितेको छ। दोलखामा मतगणना सकिएका ७ पालिकामा कांग्रेस, माओवादी र एमालेले २/२ स्थान जित्दा एउटामा एकीकृत समाजवादी विजयी भएको छ।

काभ्रेपलान्चोक जिल्लामा माओवादीले ३, कांग्रेसले २ र एकीकृत समाजवादीले एउटा स्थान जितेको छ। भक्तपुरमा कांग्रेसले २ स्थानीय तह जित्दा बाँकी २ वटा स्थानमा एमाले र नेमकिपा विजयी भए।

रसुवाका ५ वटा गाउँपालिकामध्ये कांग्रेसले ३ तथा एमालेले २ स्थानमा जितेको छ। धादिङमा ७ पालिका कांग्रेसले जित्दा ३ पालिका माओवादीले जितेको छ। एमाले र एकीकृत समाजवादीले १/१ पालिका जितेका छन्।

मकवानपुरमा अन्तिम मत परिणाम सार्वजनिक भएका ८ पालिकामा कांग्रेसले ५ स्थान जित्दा एमालेले २ तथा माओवादीले एउटा स्थान जितेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.