|

डडेल्धुरा : डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिकामा नेकपा एमाले शून्य भएको छ।

३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचन अन्तर्गत परशुराममा एमाले शून्य भएको हाे। सुदूरपश्चिम प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री एवं एमाले केन्द्रीय सदस्य पठानसिंह बोहराको गृह पालिका परशुराममा एमालेको हार भएको हो।

१२ वटा वडा रहेको परशुराममा एमालेले यसपटकको निर्वाचनमा एक वडा समेत जित्न सकेन। यसअघि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा एमालेले परशुराममा २ वडा जितेको थियो।

यसपटक ती वडामा माओवादी केन्द्र र नेपाली कांग्रेस विजयी भएका छन्। नगर प्रमुखमा हार ब्यहोरेका नेता केशव बोहराले पार्टीभित्रको चरम अन्तर्घातले एमाले हारले बताए।

निर्वाचन परिणाम सार्वजनिक भएपछि आफ्नो फेसबुकमा लामो सन्देश लेख्दै बोहराले पार्टी भित्रै निर्मम समीक्षा हुनेसमेत उल्लेख गरेका छन्।

‘परशुराम नगरपालिकाको स्थानीय तहको निर्वाचनको अन्तिम नतिजा आएको छ। मत परिणामले हाम्रो पार्टी एमालेका पक्षमा आउन नसक्नुका थुप्रै कारणहरू छ्न्’, बोहरा भन्छन्, ‘त्यस मध्येको प्रमुख कारण पार्टीभित्रको चरम अन्तर्घात हो भन्ने कुरामा दुईमत छैन। अन्तर पार्टीको विषय भएकाले तत्काल पार्टी भित्रै यसको निर्मम समीक्षा हुने नै छ। तर, लोकतन्त्रमा जित्ने पक्ष जितपछि संयमित र बढी जिम्मेवार हुनुपर्ने हुन्छ।’

पूर्वमन्त्री बोहराको गृह वडा–४ मा पनि एमाले पराजित हुन पुगेको छ। यस वडामा माओवादी केन्द्रबाट वडाध्यक्ष बनेका छन्। यसका साथै पूर्वमन्त्री बोहरामाथि कांग्रेसका उम्मेदवारलाई भोट हाल्न आग्रह गरेको आरोप पनि लागेको छ।

बोहराले आफ्ना उम्मेदवारलाई नभई कांग्रेसका भरत वडायर जोशीलाई मत दिन भनेको आरोप लगाइएको हो।

उनकै पार्टी नेताहरूले पनि पार्टीभित्रको चरम अन्तर्घात भएको आरोप लगाएका छन्। परशुराममा माओवादी केन्द्रले सबैभन्दा बढी ७ वडा जितेको छ भने कांग्रेसले ५ वडामा विजयी भएको छ। यहाँको मेयरमा कांग्रेसका जोशी र उपमेयरमा माओवादीका विमला कुमारी बोहरा विजयी भएका छन्।

अघिल्लो स्थानीय तह निर्वाचनमा जिल्लामा सबैभन्दा बढी १९ वटा वडा जितेको एमाले यसपटक भने ३ मै सीमित भएको छ। यसका साथै उसले यसअघिको चुनावमा दुई पालिका जितेको भएपनि यसपालि भने शून्यमा झरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.