|

धनकुटा : धनकुटामा प्रदेशस्तरिय औद्योगिक प्रदर्शनी, कृषि मेला एवम् फुड फेष्टिबल–२०८१ सुरु भएको छ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मेलाको उद्घाटन गरेका छन्।

बुधबार मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार साढे ३ वर्ष चल्ने बताएका छन्। उनले यस्ता मेलाले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने भएकाले प्रदेश सरकारले सहयोग गर्ने बताए।

उनले धनकुटाको विकासमा कमी हुन नदिने बताउँदै २०८३ भित्र धनकुटामा १०० बेडको अस्पताल सञ्चालनमा ल्याउन प्रदेश सरकार लागिरहेको बताए। उनले धनकुटामा आर्थिक वर्ष ०८१-८२ बाट प्रशासनिक भवन तथा मन्त्री र कर्मचारी आवास बनाएर महिनामा एकपटक मन्त्रिपरिषदको बैठक राख्ने बताउँदै ३ वर्षभित्र प्रदेश सरकारले प्रदेशको महत्वको सन्देश दिनेगरी काम गर्ने बताए।

‘स्वदेशी उत्पादनको प्रयोग गरौँ, आत्मनिरर्भतातर्फ अग्रसर बनौँ’ भन्ने मूल नाराका साथ नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको आयोजनामा धनकुटाको अमलेटारमा रहेको औद्योगिक ग्राममा सुरु भएको मेला जेठ १७ गतेसम्म चल्नेछ। मेलामा घरेलु उत्पादन र स्थानीय खानाका परिकार ३० वटा स्टल राखिएको छ।

मेलामा २० हजार आन्तरिक पर्यटकले अवलोकन गरेर २ करोडको कारोबार हुने आयोजकको अपेक्षा रहेको छ। धनकुटामा निर्माण भएको औधोगिक ग्राम सञ्चालनमा आउन नसकेपछि आयोजना गरिएको मेलामा कोशी प्रदेशका साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी र विक्री वितरणका साथै मनोरञ्जनात्मक प्रस्तुतिहरू रहेको घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.