ललितपुर : ललितपुर महानगरपालिकामा मेयरमा कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले अग्रता फराकिलो बनाउँदै लगेका छन्। करिब १० हजारको अग्रता बनाइरहँदा उपमेयरमा एमालेकी मन्जली शाक्य अग्र स्थानमा छिन्।
माओवादी केन्द्रका बाबुराज बज्राचार्यको ४ हजार भन्दा बढी मत छ। अन्तिम मत परिणाम आइसकेका वडाहरूमा सबैभन्दा बढी वडामा कांग्रेस विजयी भएको छ।
कांग्रेस ८ वटा वडामा विजयी हुँदा एमालेले ४ वटा वडा जितेको छ। एकीकृत समाजवादी र स्वतन्त्रले २–२ वडा अध्यक्ष जितेका छन्। यहाँ गठबन्धनले कांग्रेसलाई फाइदा भएको देखिएको छ भने एमालेलाई एकीकृत समाजवादी फुटको असर छर्लङ्गै देखिएको छ।
वडा नम्बर २ र ३ पूर्व एमालेमै रहेकाले अहिले समाजवादीबाट चुनाव जितेका छन्। वडा नम्बर ११ मा एकीकृत समाजवादी र एमालेको मत बाँडिदा कांग्रेसले थोरै मतले जितेको छ। त्यहाँ कांग्रेसले टिकट नदिएपनि बागी उठेर जितेका हुन्। वडा नम्बर १ र १३ मा कांग्रेसका बागीले वडा अध्यक्षमा जितेका छन्।
वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तन्डुकार, वडा नम्बर २ र ३ मा एकीकृत समाजवादीका राजेश कुमार महर्जन र श्री गोपाल महर्जन निर्वाचित भए। वडा नम्बर ४ मा कांग्रेसका सन्तोष खड्का, वडा ५ मा एमालेका विकासमान श्रेष्ठ, वडा नम्बर ६ मा कांग्रेसका रुपेन्द्रलाल शाक्य, वडा नम्बर ७ मा पनि कांग्रेसका कूल बहादुर महर्जन र वडा नम्बर ८ मा कांग्रेसकै बाबु रत्न महर्जन विजयी भएका छन्।
वडा नम्बर ९ मा कांग्रेसका राजु महर्जन, १० मा स्वतन्त्र उम्मेदवारलाई हराउँदै रविनमान व्यञ्जनकार निर्वाचित भए। कडा प्रतिस्पर्धा भएको वडा नम्बर ११ मा कांग्रेसका अरोज कुमार खड्गी विजयी भए।
त्यहाँ एकीकृत समाजवादी र एमालेका उम्मेदवारले खड्गीको भन्दा दुबैले ३० भोट कम ल्याएका थिए।
वडा नम्बर १२ मा कांग्रेसलाई पछि पार्दै एमालेका नारायण लाल अवाले विजयी भए। वडा नम्बर १३ मा स्वतन्त्र उम्मेदवार गणेश केसीले वडा अध्यक्ष जिते भने वडा नम्बर १४ कांग्रेसका अमृतजंग महत निर्वाचित भए।
वडा नम्बर १५ मा कडा प्रतिस्पर्धा भएको छ। जसमा निवर्तमान वडाअध्यक्ष एकीकृत समाजवादीका सुर्दशन मिश्र एमालेका सुरेश बहादुर साहीसँग ३३ मतले पराजित भए। वडा नम्बर १७ मा एमालेका विनोद महर्जन निर्वाचित भएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।