|

काठमाडौं : कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

नगर प्रमुखमा कांग्रेस उम्मेदवार अब्दुल कलाम मुसलमानले १० हजार २०० मत प्राप्त गरि चुनाव जिते। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामदास चौधरीले ८ हजार ६ सय ६८ मत र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार ओंकारनाथ शुक्लले २ हजार ४ सय ७४ मत पाए।

नगर प्रमुख निर्वाचित मुसलमानले २०७४ सालको निर्वाचनमा महाराजगञ्ज नगरपालिकाको प्रमुख जितेका थिए। त्यसैगरी उपप्रमुखमा कांग्रेसकी उम्मेदवार रीता कुमारी कुर्मीले ११ हजार १ सय ६७ मत पाएर चुनाव जितेकी छन्।

उनकी प्रतिस्पर्धी एमालेकी उम्मेदवार भानमती यादवले ७ हजार २ सय मत पाइन् भने लोसपाकी उम्मेदवार सावित्रीदेवी कुर्मीले २ हजार ५ सय ५ मत पाइन्। उपप्रमुख जितेकी रीताकी सासु शुभावती कुर्मीले २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस पार्टीबाट उपप्रमुख जितेकी थिइन्।

यो स्थानीय तहको निर्वाचनमा उपप्रमुखको उम्मेदवारी दिएकी शुभावतीको निधन भएपछि कांग्रेसले उनकी बुहारी रीतालाई उम्मेदवार बनाएको थियो।

उपप्रमुख उम्मेदवार शुभावतीको निधनका कारण बैशाख ३० गतेका लागि निर्धारित मतदानको कार्यक्रम जेठ ३ गते सरेको थियो। ११ वटा वडा रहेको महाराजगंजमा नेपाली कांग्रेसले नगर प्रमुख र उपप्रमुखसहित ८ वटा वडा जितेको छ।

त्यसैगरी नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी र जनता प्रगतिशील पार्टीले समान एक-एक वटा वडा जितेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.