|

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको मिक्लुङ सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन अध्यक्षसहित ५ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ।

अख्तियारले तत्कालीन अध्यक्ष सन्तोषकुमार लावती, सचिव देविन्द्र कार्की, कोषाध्यक्ष भीमा लम्साल ढकाल, आपूर्ति संयोजक रामप्रसाद पौडेल र सि.वि. बस्नेत एण्ड एसोसिएटसका सञ्चालक तथा लेखापरीक्षक चन्द्रबहादुर बस्नेतविरुद्ध आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

तत्कालीन अध्यक्ष लावतीबाट ९ लाख ७७ हजार, तत्कालीन सचिव कार्कीबाट ८ लाख १६ हजार, तत्कालीन कोषाध्यक्ष ढकालबाट ७ लाख २ हजार र आपूर्ति संयोजक पौडेलबाट ३ लाख ८४ हजार रूपैयाँ बिगो कायम गरी सजाय माग गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए।

उनका अनुसार लेखापरीक्षक बस्नेतलाई भने बिगो रकम कायम नगरी कैद र जरिवाना माग गरिएको छ। वन उपभोक्ता समूहमा रहँदा उनीहरुले मिलेमतोमा वनको रकम हिनामिना गरी सामुदायिक वन संस्थालाई नोक्सानी र आफूलाई फाइदा पुग्ने गरी फर्जी बिल भरपाई बनाएको पाइएको छ।

उनीहरूले वन कार्यालयको कुनै पनि निकायसँग समन्वय नगरी काठ निःशुल्क बाँड्ने र सालको काठलाई कुकाठ वा दाउराको रुपमा मूल्यांकन गर्ने, परिमाण घटाइ बिक्री गर्ने तथा आम्दानी नदेखाइ रकम हिनामिना गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.