|

काठमाडौँ : नेपाल क्रिकेट संघ क्यानले आफ्नै एकमात्र घरेलु टी-२० राष्ट्रिय प्रतियोगिताका रूपमा नेपाल टी-२० लिग आयोजना गर्ने भएसँगै घरेलु टी-२० फ्रेन्चाइज लिगहरू अब राष्ट्रिय नहुने भएका छन्। क्यानको निर्णयसँगै आक्रोशित बनेका इपिएल आयोजकले आफूहरू कानुनी लडाइँका लागि सर्वोच्च पुगेको जनाएका छन्।

क्यानले आइसिसीले एक देशमा एकमात्र फ्रेन्चाइज टी-२० हुने जानकारी गराएको भन्दै अन्य प्रतियोगितालाई राष्ट्रिय प्रतियोगिताको मान्यता दिन नसक्ने जानकारी गराएसँगै एभरेष्ट प्रिमियर लिग (इपिएल)का प्रमुख आमिर अख्तर सर्वोच्च अदालत पुगेका छन्। इपिएलका आयोजक र ६ टिमहरूले कानुनी उपचारको बाटो खोज्न भन्दै सर्वोच्च पुगेका हुन्।

केही दिनअघि चार संस्करणको सफल आयोजना गरिसकेको इपिएललाई मान्यता दिनका लागि आयोजक र टिमहरूले संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै इपिएललाई राष्ट्रिय मान्यता नदिए सबैखाले प्रतियोगिता बहिष्कार गर्ने धम्की दिएका थिए। लगत्तै क्यानले संस्थालाई धम्की नदिन चेतावनी दिँदै कुनै पनि हालतमा अन्य टी-२० प्रतियोगिताले राष्ट्रिय मान्यता नपाउने जनाएको थियो।

क्यानले अहिले प्रचलनमा रहेका टी-२० फ्रेन्चाइजलाई प्रादेशिक संरचनामा सञ्चालन गर्न सकिने विकल्प दिएको थियो। तर अहिले इपिएलले क्यानको त्यो निर्णयलाई आफूहरू स्वीकार गर्न नसकिने र यसको निकासाका लागि कानुनी बाटोमा जाने भन्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। इपिएलले बिहीबार एक वक्तव्य जारी गर्दै क्यानलाई विपक्षी बनाएर अन्तरिम आदेशको मागसहित सर्वोच्चमा रिट दायर गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.