|

काठमाडौं : जबरजस्ती करणी मुद्दाका फरार रहेका सुनसरी इटहरी उपमहानगरपालिका–५ स्थित ब्लुमिङ लोटस इङलिश स्कूलका प्रिन्सिपल पक्राउ परेका छन्।

सिन्धुली कमलामाई नगरपालिका–७ बस्ने ३६ वर्षीय राज खड्का भन्ने राजकुमार खड्कालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। काठमाडौं टोखा नगरपालिकास्थित बानियाटारमा डेरामा लुकिछिपी बसेका खड्कालाई नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं त्रिपुरेश्वरबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा पठाएको छ।

उनलाई फैसला कार्यान्वयनका लागि सुनसरी जिल्ला अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।

खड्काले आफ्नै स्कूलमा पढ्ने विरामी भएकी १५ वर्षीया छात्रालाई घुमाउने र औषधि उपचार समेत गरिदिने भनी २०७४ साउन २६ गते सुनसरी धरान उपमहानगरपालिका–१० स्थित गेस्ट हाउसमा पुर्‍याई बलात्कार गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनले स्कूलबाट रेष्टिकेट गरिदिने भनी धम्क्याई जबरजस्ती करणी गरेपछि उक्त स्कूल छाडी अर्कै स्कूलमा पढिरहेकी ती छात्रालाई विवाह गर्छु भनी फकाउने गरेको पाइएको छ।

२०७५ भदौ २ गते जिल्ला प्रहरी कार्यालयमा परेको जाहेरीमा समाजमा बेइज्जत गरिदिने धम्की दिँदै पटक–पटक मानसिक तनाव दिँदै जबरजस्ती करणी गरेको उल्लेख गरिएको छ।  जाहेरी परेलगत्तै खड्का फरार भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.