|

सल्यान : सल्यानको शारदा नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ। पहिलो चरणमा अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई मद्देनजर गर्दै वडाबाट नै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको हो।

बैंकमा आउजाउ गर्दा अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गलाई सास्ती भएपछि नगरपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको हो।

नगरका विभिन्न वडाबाट सदरमुकाम तथा श्रीनगर बजारमा रहेका बैंकमा आउनु पर्दा विभिन्न किसिमका कष्ट उठाउने मात्रै नभई लामो समय हिँड्नु पर्दा सास्ती भएको गुनासो आएपछि वडाबाटै वितरण गर्ने व्यवस्था मिलाएको शारदा नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख प्रकाश भण्डारीले बताए। उनले निर्वाचनका वेला जनाएको प्रतिबद्धता समेत पूरा गरेको जानकारी गराए।

पहिलो दिन शारदा नगरपालिकाको वडा नं. ३ बाट सुरक्षा भत्ता वितरण शुरु गरिएको उनको भनाइ छ। नगरपालिकाका १५ वटै वडामा जेठ १३ देखि २७ गतेसम्म वडाबाटै सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको भण्डारीले बताए।

विगतमा तत्कालीन गाविसले वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्तामा दुरुपयोग भयो भनेर सरकारले बैंकमा खाता खोलेर जम्मा गर्ने व्यवस्था मिलाएको थियो। सरकारले भत्ता दुरुपयोग हुनबाट बचाउन र सम्बन्धित व्यक्तिले नै भत्ता रकम पाऊन् भनेर बैंकमा खाता खोल्ने काम गरेको थियो तर यसबाट अशक्त, ज्येष्ठ नागरिक र अपाङ्गले सास्ती भोग्नु परेको थियो।

शारदा नगरपालिकाभित्र अशक्त, ज्येष्ठ नागरिक, अपाङ्ग, एकल गरी ६ हजार १३० जनाले सामाजिक सुरक्षा भत्ता पाउँदै आइरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.