|

बागलुङ : केही समय अगाडिसम्म युवा पुस्तामा राजनीतिप्रति तीव्र वितृष्णा थियो। राजनीतिमा प्रायः बूढापाका नै बढी हाबी हुने गरेका थिए। पछिल्लो समय राजनीतिमा युवा पुस्ताको आकर्षण निकै बढेको पाइन्छ। नेपाली कांग्रेस, नेकपा र नेकपा माओवादी केन्द्रको महाधिवेशनले पनि राजनीतिमा युवा आकर्षण बढेको देखायो। हालै सम्पन्न स्थानीय तहको निर्वाचनले पनि त्यो प्रमाणित गरेको छ।

बागलुङका सन्दर्भमा पनि धेरै युवा पार्टी नेतृत्व तथा स्थानीय पालिकाको नेतृत्वमा चुनिएका छन्। स्थानीय तहको निर्वाचनमा बागलुङमा धेरै युवा निर्वाचित भएका छन्। केही गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा केही नगरपालिकाका प्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन्। केही भने वडाध्यक्ष र वडा सदस्यमा पनि निर्वाचित भएका छन्।

बागलुङमा सबैभन्दा कम उमेरमा पालिकाको नेतृत्व तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले गरेका छन्। यसअघि पनि अध्यक्ष बनेर पालिकाको नेतृत्व गरेका बुढा मगर अहिले ३५ वर्षका भए। युवा जोश र जाँगरका साथ विकट तमानखोलालाई विकासको गतिमा अघि बढाएका छन्।

पालिका उपप्रमुखमध्ये सबैभन्दा कान्छो उपप्रमुख ढोरपाटन नगरपालिकाका नवनिर्वाचित उपप्रमुख धनबहादुर कायत (कल्याण) हुन्। कायत ३३ वर्षका भए। केही महिनाअघि भएको नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट ढोरपाटन नगरपालिकाको सभापतिमा निर्वाचित कायत विद्यार्थी कालदेखि नै राजनीतिमा होमिएका थिए।

४० वर्षमुनिका पालिका प्रमुख तथा उपप्रमुख बागलुङमा धेरै छन्। बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्मा पनि युवा नेतृत्वमै पर्छन्। यसअघि पनि गाउँपालिकाको अध्यक्ष भएर नेतृत्व गरेका शर्मा अहिले ३८ वर्षका भए। उनी अघिल्लो पटक निर्वाचित हुँदा ३३ वर्षका थिए। शर्मा पनि बरेङ गाउँपालिकाको विकासमा निरन्तर लागेका छन्। अघिल्लो कार्यकालमा राम्रो छवि बनाएर शर्माले योपटक पनि राम्रो गर्ने नागरिकले अपेक्षा गरेका छन्।

त्यस्तै जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, बडिगाड गाउँपालिकाका उपप्रमुख भीमसेन वन र तमानखोला गाउँपालिकाकी उपाध्यक्ष हीराकुमारी छन्त्याल पनि युवामै पर्छिन्। उनीहरू सबै ३८ वर्षका छन्। वडाध्यक्षमा धेरै युवा निर्वाचित भएका छन्। ८५ वटा वडा रहेका बागलुङमा अधिकांश ४० वर्ष मुनिका छन्।

त्यसमध्ये गलकोट नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पवन हमाल जिल्लामै सबैभन्दा कान्छा जनप्रतिनिधिमा पर्छन्। उनी २७ वर्षका भए। जिल्लामा ३० वर्षभन्दा कम उमेरका जनप्रतिनिधिहरू कमै छन्।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बुढापाको अनुभव र सुझावलाई आत्मसात गर्न सके विकास गर्न सकिने बताए। अध्यक्ष बुढा मगरले अघिल्लो कार्यकालमा बूढापाका र पूर्व जनप्रतिनिधिहरूको सल्लाह सुझाव र समन्वयमा विकासका गतिविधिलाई चुस्त बनाएको भन्दै यो कार्यकालमा पनि त्यसरी नै अगाडि बढ्ने बताए।

उनले युवा जोशले समाज रूपान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने र उनीहरूमा नयाँ र पृथक् योजना हुने बताए। ‘युवामा केही काँचोपन भए पनि उनीहरूमा नयाँ र पृथक् योजना हुन्छ, उनीहरूले पुराना पुस्तासँग सहकार्य गरेर उनीहरूको अनुभव र सुझावलाई आत्मसात गरे विकास गर्न सजिलो हुन्छ’, अध्यक्ष बुढा मगरले भने।

बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले पाका पुस्ताको प्रेरणाबाट युवाले परिवर्तन ल्याउन सक्ने बताए। उनले बूढापाकामा धेरै ज्ञान हुने र उनीहरूबाट सिकेका कुरा व्यवहारमा लागू गर्न सके समाज रूपान्तरमा टेवा पुग्ने बताए। उनले यस अगाडिको कार्यकालमा उनीहरूसँग सुझाव लिएर विकास निर्माणमा जुटेको बताए।

‘अग्रजहरू हाम्रा लागि ज्ञानका स्रोत हुन्, उनीहरूबाट ज्ञान लिएर युवा पुस्ताले नयाँ ढंगले योजना बनाएर काम गर्‍यो भने त्यो विकास दीर्घकालीन हुन सक्छ’, अध्यक्ष शर्माले भने ‘हामीले पनि उहाँहरूसँग सहकार्य गरेर विकास निर्माणमा जोड दिएका थियौँ, दिँदै जानेछौँ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.