|

दाङ : तुलसीपुर उपमहानगरपालिका १२ कचिलामा एक कृषक पालेका २२ हजार माछाको भुरा मरेका छन्।

१४ कठ्ठामा रहेको माछा पोखरीमा शुक्रबार राति विष हालेर २२ हजार माछाको भुरा मारिएको कृषक मदन गिरीले बताए। बिहानै उठेर पोखरीमा हेर्न जाँदा सबै माछा मरेर तैरिएको अवस्थामा पाइएको उनले बताए।

पोखरीमा २ महिनाअघि मात्रै प्रतिगोटा ५ रुपैयाँका दरले एक लाख बढी मूल्यको माछाको भुरा हालिएको उनले बताए। ६ वर्षदेखि माछा पाल्दै आएका  गिरीले यसअघि कहिल्यै यस्तो घटना नभएको पनि बताए।

उनले भने, ‘अक्सिजनको कमी भनौँ, भने यस अघि ३ हजार माछा पोखरीमा हाल्दा केही भएका थिएन। तर, साँझसम्म हेर्दा ठीक थिए।’ घटनाबारे नगरपालिकाका कृषि चिकित्सक र प्रहरीलाई जानकारी गराइएको उनको भनाइ छ।

उनका छिमेकी वामदेव गिरीका अनुसार पोखरीमा पालिएको माछामा यस प्रकारको घटना घटाइएको यो पहिलो पटक भएको हो। कृषकले लगानी र जोखिम मोलेर गरेको दुःखमा यस प्रकारको घटनाले हतोत्साही बनाएको उनले बताए।

माछामा विष हालेको हो वा होइन भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.