|

काठमाडौं: चालु आर्थिक वर्षमा निर्यात ८२ दशमलव ९ प्रतिशतले बढ्दा आयात पनि ३८ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ। 

आर्थिक सर्वेक्षण २०७८/७९ को अनुसार गत फागुनसम्ममा कुल निर्यात बस्तु वृद्धि भएर १ खर्ब ४७ अर्ब ७५ करोड रुपैंया पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा वस्तु निर्यात ७ दशमलव ८ प्रतिशतले बढेर ८० अर्ब ७८ करोड पुगेको थियो। 

यस आर्थिक वर्षमा पाम र सोयाविन तेल, पिना, धागो, ऊनी गलैँचा लगायतका वस्तुको निर्यात बढ्दा अलैंची, चिया, जडिबुटी, तार, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ। 

आयाततर्फ १३ खर्ब ८ अर्ब ७३ करोड रुपैंया पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा आयात २ दशमलव १ प्रतिशतले बढेर ९ खर्ब ४३ अर्व ९९ करोड पुगेको थियो। 

चालु आर्थिक वर्षमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, कच्चा सोयाविन तेल सुन लगायतका वस्तुको आयात बढेको छ। एम.एस बिलेट, सिमेन्ट, रासायनिक मल, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ। 

गत फागुन सम्ममा कुल वस्तु व्यापार घाटा पनि ३४ दशमलव ५ प्रतिशतले बढेर ११ खर्ब ६० अर्ब ९९ करोड पुगेको अर्थ मन्त्रालयले जनाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा १ दशमलव ६ प्रतिशतले वृद्धि भइ ८ खर्ब ६३ अर्ब २१ करोड पुगेको थियो। 

बढ्दो व्यापार  घाटा, खुद सेवा आय र खुद ट्रान्सफरमा आएको कमी, पुँजीगत खाता र वैदेशिक ऋण तथा अनुदान आप्रवाहमा आएको कमीका कारण चालु खाता ४ खर्ब ६२ अर्ब ९३ करोडले घाटामा रहेको सरकारले जनाएको  छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.