|

हेटौँडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।

प्रदेश प्रमुख यादव चन्द्र शर्माले सोमबार प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। प्रमुख शर्माले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा १ सय ६६ वटा बुँदामा विभिन्न कार्यक्रमहरु समावेश गरिएको छ।

सरकारले आगामी आर्थिक वर्षको लागि बनाएको नीति तथा कार्यक्रममा चालू आर्थिक वर्षमा रहेका अधिकांश कार्यक्रमहरुलाई निरन्तरता दिएको देखिन्छ।

सरकारले प्रदेश भित्रका माध्यमिक तहका विद्यालयहरुमा एक विद्यालय/एक नर्स कार्यक्रमलाई निरन्तरता दिने प्रदेश प्रमुख शर्माले बताएका छन्। चालू अवस्थामा रहेको उक्त कार्यक्रमलाई सरकारले अझ प्रभावकारी ढंगले सञ्चालन गर्ने जनाएको छ।

त्यस्तैगरी प्रदेश सरकारले उच्च शिक्षा पढ्नका लागि छोरी–बुहारीलाई छात्रावृत्ति कार्यक्रमलाई निरन्तरता दिने भएको छ। प्रदेश सरकारले प्रदेशमा उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम संचालन गर्ने भएको छ। पाँच वर्ष भित्र प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन प्रोत्साहन कार्यक्रम ल्याइने सरकारले घोषणा गरेको छ।

यस्तै प्रदेश सरकारले सरुवा रोगहरूको जोखिम नियन्त्रण र कोभिड–१९ जस्ता महामारीको प्रतिकार्यको प्रभावकारी व्यवस्थापनको लागि कम्तीमा ५० बेडको सुविधा सम्पन्न प्रदेशस्तरीय सरुवा रोग अस्पताल स्थापना गर्ने कार्यलाई अगाडि बढाउने पनि जनाएको छ।

सशस्त्र संघर्ष र जनआन्दोलनका घाइतेलाई प्रादेशिक अस्पतालहरूबाट निःशुल्क उपचारको व्यवस्था, ‘नमुना वडा समाजवादी कार्यक्रम’ कार्यान्वयन गरिने, आयुर्वेद औषधिमा आत्मनिर्भर हुन चितवनको रत्ननगरमा आयुर्वेद औषधि उत्पादन केन्द्र सञ्चालन गर्ने कुरा सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

सरकारले हेटौँडा, त्रिशूली, सिन्धुली, भक्तपुर,धादिङ, बकुलहर र पशुपति चौलागाई स्मृति अस्पताललाई विशिष्टिकृत स्वास्थ्य सेवा प्रदायक अस्पतालको रूपमा स्तरोन्नति गर्ने, हेटौँडा अस्पताललाई दुई सय बेडको अस्पतालमा स्तरोन्नति गरी धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरसँगको सहकार्यमा मृगौला प्रत्यारोपण सेवा समेत विस्तार गर्ने, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको विस्तार र सुदृढीकरण गर्दै लैजाने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको आफ्नै अस्पताल स्थापनाको लागि आवश्यक प्रक्रिया अघि बढाउने पनि सरकारले घोषणा गरेको छ। त्यसैगरी सरकारले प्रदेशमा रहेको सीमान्तकृत चेपाङ समुदायको आर्थिक सामाजिक रुपान्तरणका लागि मकवानपुर, धादिङ र चितवनको चेपाङ जाति बसोबास क्षेत्रलाई चेपाङ विशेष संरक्षित क्षेत्र बनाउने, यौनजन्य दुर्व्यवहार, बाल–विवाह, मानव बेचविखन र विद्युतीय अपराध विरुद्ध सचेतना जगाउन ‘हाम्रो ध्यान, युवा सचेतना अभियान’ सञ्चालन गर्ने, प्रदेश खेलकुद विकास र विस्तारका लागि प्रदेश खेलकुद परिषद् र स्थानीय तहसँगको सहकार्य र साझेदारीमा प्रदेश स्तरीय रंगशाला, खेल पूर्वाधारहरूको निर्माण र संरक्षण गर्ने, प्रदेशस्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने, एक स्थानीय तह एक खेल मैदानको नीति लिएको छ।

सरकारले प्रदेश कृषि विकास ऐनको तर्जुमा गर्ने, प्रदेश पोल्ट्री विकास बोर्डको स्थापना गर्ने, पशु स्वास्थ्य तथा क्लिनिकल सेवालाई विस्तार गर्न स्थानीय तहसँगको समन्वयमा एक वडा एक पशु स्वास्थ्य क्लिनिक कार्यक्रम सञ्चालनमा ल्याउने, प्रदेशभित्र सम्भाव्यताका आधारमा रासायनिक मल कारखाना र कृषि औजार कारखाना स्थापना गर्ने प्रक्रिया अगाडि बढाउने भएको छ। प्रदेश सरकारले प्रदेश भित्रका गरिव तथा बिपन्न  कम्तीमा दश हजार युवालाई रोजगारी प्रदान गर्न ‘मुख्यमन्त्री सीप विकास तथा रोजगार कार्यक्रम’ सञ्चालन गर्ने पनि जनाएको छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.