|

काठमाडौं : खानेपानी मन्त्री उमाकान्त चौधरीले काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानी वितरण बन्द गरिने बताएका छन्।

खानेपानी मन्त्रालयमा बुधबार पत्रकार सम्मेलन गर्दै मन्त्री चौधरीले मेलम्चीको पानी काठमाडौंतर्फ पथान्तरण गर्ने काम बन्द गरे पनि सरकारले बैकल्पिक स्रोतको व्यवस्था गरी थप १७ करोड लिटर पानी आपूर्ति गरिने बताए।

‘यस वर्षको मनसुन भारतको केरलामा प्रवेश गरिसकेको र जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण गरेअनुसार केही दिन भित्रै नेपाल प्रवेश गर्ने अवस्था देखिन्छ। अर्बौंको लगानीमा निर्माण भएको आयोजनाको संरचनालाई सुरक्षित गर्न आवश्यक भएकाले डाइभर्सन स्थलमा जडित अर्ली वार्निङ सिस्टम र विज्ञको सुझावको आधारमा मेलम्चीको पानी हाललाई बन्द गरिएको छ’, मन्त्री चौधरीले भने।

उनले मेलम्चीको नदीबाट दैनिक १७ करोड लिटर पानी वितरण गरिएकोमा त्यो बन्द भएपछि विकल्पको रुपमा बागमती नदीबाट दैनिक ६ करोड लिटर पानी थप गरिने र नपुग ७ करोड लिटर पानी भूमिगत स्रोतबाट आपूर्ति गरिने जानकारी दिए।

वर्षायाम समाप्त हुने वित्तिकै मेलम्चीको पानी पुनः पथान्तरण गरी काठमाडौंमा वितरण गरिने भन्दै मन्त्री चौधरीले आयोजनाको सुरक्षाको लागि सुरुङको ढोका बन्द गर्दा आम उपभोक्तामा पर्न गएको असुविधाप्रति क्षमा याचना गरेका छन्।

उनले भने, ‘मेलम्चीको पानी पुन पथान्तरण गर्नको लागि दीर्घकालीन रुपमा हेडवर्कको मर्मत गरी दिगो रुपमा पानी आपूर्ति गर्न एसियाली विकास बैंकको सहयोगमा तयार भएको अध्ययन प्रतिवेदनको आधारमा वर्षायाम सकिने वित्तिकै कार्यान्वयन गरिने छ।’

मन्त्री चौधरीले गत वर्ष मेलम्ची नदीमा आएको बाढी पहिरोबाट क्षतिग्रस्त सडक निर्माण, नदी नियन्त्रण र पहिरो नियन्त्रणका लागि सडक विभाग र सिँचाई विभागलाई बजेट व्यवस्था गरे बमोजिम हाल तीब्र गतिमा काम भइरहेको जनाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.