|

काठमाडौं :  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारी गरेको छ। 

अन्तर्राष्ट्रिय बजारमा निरन्तर मूल्य बढ्दै जाँदा घाटा चुलिएपछि निगमले अब परल मूल्यमै पेट्रोलियम पदार्थ विक्री वितरणको तयारी गरेको हो।  इण्डियन आयल कर्पोरेशन आइओसीलाई तिर्नुपर्ने बक्यौता बढ्दै गएको र पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन नसक्ने अवस्था आएकाले परल मूल्यमै विक्री गर्ने तयारी भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

‘आइओसीलाई १६ अर्ब तिर्नै बाँकी छ, यो जुन महिनाका लागि पहिलो किस्ता बापतको १६ अर्ब गरी ३२ अर्ब रुपैयाँ यहि ८ तारिखमा भुक्तानी गर्नुपर्छ’, प्रवक्ता उपाध्यायले भने, ‘तर इन्धन बिक्रीबापत् यो अवधिमा १० अर्ब मात्रै तिर्न सक्ने देखिन्छ। त्यसैले परल मूल्यमा नबेच्ने हो भने इन्धनको बिक्रीवितरण सहज गराउन अब समस्या हुन्छ।’ 

आइओसीको बक्यौता तिर्न सरकारसँग २ अर्ब रुपैयाँ मागेको २ महिना भएपनि नपाएको उपाध्यायले बताए। आइओसीले हिजो पठाएको नयाँ मूल्य अनुसार पेट्रोल २ सय ३, डिजेल १ सय ८३ र मट्टितेल १ सय ४८ रुपैयाँ प्रतिलिटर पुगेको छ। खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर २५ सय ५१ रुपैयाँमा खरिद गरिएको निगमले जनाएको छ। तर निगमले हाल पेट्रोल १ सय ८०, डिजेल  र मट्टितेल १ सय ६३ रुपैयाँमा बिक्री गरिरहेको छ। 

पेट्रोलमा २३ र डिजेलमा २० रुपैयाँ घाटा छ भने मट्टितेलमा १५ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ। निगमका अनुसार १८ सय रुपैयाँमा विक्री गरिरहेको एलपी ग्यासमा प्रतिसिलिण्डर ७ सय ५१ रुपैयाँ घाटा रहेको छ। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म ४७ अर्ब नोक्सानी भइसकेको निगमको दाबी छ। 

सरकारले पेट्रोलियम पदार्थको खपत घटाउन जेठ १ गतेदेखि सरकारी कार्यालयहरुमा सातामा दुई दिन विदा दिन सुरु गरेको छ। तर दुई साताको अवस्था हेर्दा इन्धनको खपत खासै नघटेको प्रवक्ता उपाध्यायको भनाइ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.