|

पाल्पा : तानसेन नगरपालिका –१४ का जनप्रतिनिधिले राहत कोष स्थापना गरेका छन्।

आफूहरूले पाउने सेवा सुविधा वापतको दुई महिनाको रकम राहत कोषमा जम्मा गर्ने वडाध्यक्ष शोभाखर भट्टराईले बताए।

उनका अनुसार आफूसहित अन्य चार जना सदस्यले पाउने सेवा सुविधा वापतको दुई महिनाको सुविधा रकम राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ। वडाको पहिलो बैठकले यस्तो निर्णय गरेको हो। पहिलो चरणमा करिब डेढ लाख रकम जम्मा हुने उनले बताए।

राहत कोषबाट वडा भित्रका जनतालाई आइपर्ने विपतमा सहयोग गरिने छ। आगलागी, बाढी, पहिरो, प्रारम्भिक उपचारमा समस्या भएका विपन्न परिवार, अपाङ्ग भएर पनि प्रक्रिया नपुगी सरकारबाट सेवा सुविधा नपाएका व्यक्तिलाई यो कोषबाट सहयोग गर्ने लक्ष्य रहेको भट्टराईले बताए।

‘यहाँका जनतालाई तत्काल भैपरी आउने समस्या परेमा वडाबाट दिने कुनै अधिकार छैन्’, उनले भने, ‘आपतको बेलामा सहानुभूति प्रकट गर्न राहत कोष स्थापना गरेका हौँ।’ तत्काल सानो रकम भएपनि कोषमा रकम वृद्धि गर्नको लागि अभियान नै सञ्चालन गरिने छ, उनले बताए।

आफूहरूले पनि क्रमशः रकम थप्दै जाने उनले बताए। आपतमा परेका यहाँका जनतालाई प्रारम्भिक सहयोग गर्ने सोच हो। मन भएका दाताहरूले सहयोग रकम उपलब्ध गराउन सक्ने भट्टराईले बताए। अन्य ठूला समस्या आइ परेका पीडित परिवारका लागि माथिल्लो निकायसम्म आफूहरूले पहल गर्ने उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.