|

गुल्मी : मुसिकोट नगरपालिकाका प्रमुख जीवन खरेलले टीका खादा लगाएर नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई दिने कार्य रोक्न आग्रह गरेका छन्।

अबको समय सबै मिलेर विकास निर्माण सम्बन्धी खाका कोर्न आग्रह गर्दै उनले समय खेर नफाल्न मुसिकोटका बासिन्दालाई आग्रह गरेका हुन्। निर्वाचित भएपश्चात विभिन्न संघ, संस्था र व्यक्तिहरुले सम्मान तथा बधाईका कार्यक्रमहरु राख्दा काम गर्ने समय पनि खेर जाने भन्दै खरेलले बधाई तथा सम्मानका कार्यक्रमहरुलाई रोक्न आग्रह गरेको बताए।

एक हप्ताको समय बधाई तथा सम्मान ग्रहण गरेको भन्दै अबका दिनहरुमा सबै मिलेर मुसिकोटको विकासका निम्ति योजना बनाउन र विकासकाे खाका तयार पार्नका लागि आग्रह गरेका हुन्।

निर्वाचनमा मुसिकोट निवासीले अमूल्य मत दिएर विजयी गराएकोमा धन्यवाद दिँदै अब सबै मिलेर विकास केन्द्रित हुनु पर्नेमा खरेलले जोड दिए। निर्वाचनको समयमा कुनै राजनीतिक दलबाट आएपनि निर्वाचित भएपश्चात आफू सबैको साझा भएको बताए।

पाँच बर्षे कार्यकालमा हुने कार्यसम्पादनमा राजनीतिको गन्ध नआउने गरी काम गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे। यस समय अवधिमा सबै राजनीतिक दल, संघ, संस्थाहरूसँग सहकार्य गरेर नै अगाडि बढ्ने उनको भनाई छ।

नगरमा रहेका अधुरा अपूरा कार्यलाई पूरा गर्न आफूले पहिलो प्राथमिकता दिने खरेलको दाबी छ। यस्तै युवाहरुलाई स्वदेशमा नै टिकाई राख्नका लागि व्यवसायिक कृषि र पशुपालनमा आधुनिकीकरण गरी आत्मनिर्भर बनाउने योजना रहेको उनले सुनाए।

​कृषकहरुले उत्पादन गरेको कृषि उपजलाई बजारको ग्यारेन्टी नगरले लिने भन्दै ढुक्क भएर उत्पादन गर्न पनि उनले कृषकहरुलाई आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.