|

सुर्खेत : कर्णाली प्रदेशका ७९ स्थानीय तहमध्ये २३ वटा स्थानीय तहको नेतृत्व महिलाविहीन भएको छ। वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनबाट २३ स्थानीय तहको प्रमुख र उपप्रमुख दुवैमा पुरुष निर्वाचित भएका हुन्।

जसअन्तरगत सल्यानका १० स्थानीय तहमध्य चार स्थानीय तहको प्रमुख र उपप्रमुख दुवै पदमा पुरुष निर्वाचित भएका छन्। त्यस्तै, हुम्ला ७ वटा स्थानीय तहमध्ये ४ स्थानीय तहमा प्रमुख, उपप्रमुख दुवैमा महिला नेतृत्व चयन हुन सकेनन् भने डोल्पा ८ स्थानीय तह र कालिकोट ९ स्थानीय तहमध्ये ४-४ स्थानीय तहमा प्रमुख र उपप्रमुख दुबैमा पुरुष निर्वाचित भएका छन्।

त्यसैगरी, जाजरकोट ७ स्थानीय तहमध्य दुईवटा स्थानीय तहको नेतृत्व महिलाविहीन भएको छ भने मुगु चार स्थानीय तहमध्ये दुईवटा स्थानीय तहमा पनि महिला नेतृत्व छैन।

यता, रुकुम पश्चिमका ६ वटा स्थानीय तहमध्ये दुईवटा नै महिला प्रमुख, उपप्रमुख दुवैमा पुरुष निर्वाचित भए।

सुर्खेतको चौकुने गाउँपालिका र दैलेखको नौमुले गाउँपालिकामा पनि दुबै पदमा पुरुष नै निर्वाचित भए भने जुम्लाका ८ वटै पालिकाको उपप्रमुख पदमा महिलाहरु निर्वाचित भएका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा भने जुम्ला चन्दननाथको दुवै पदमा महिलाले नेतृत्व गरिरहेका थिए।

प्रदेशका दुई पालिकाको प्रमुखमा मात्रै महिला नेतृत्वमा आएका छन्। सुर्खेत वीरेन्द्रनगर र दैलेख भैरवी गाउँपालिकाको प्रमुखमा महिला निर्वाचित भएका हुन्। वीरेन्द्रनगर नगरपालिकाको प्रमुखमा मोहनमाया ढकाल र दैलेखको भैरबी गाउँपालिकामा रिता कुमारी शाही प्रमुख पदमा चुनिएका छन्।

संविधानमा महिला सहभागिता ३३ प्रतिशत सुनिश्चित गरिए पनि व्यवहारमा राजनीतिक दल आफैँले लागू गर्न नसकेको स्थानीय तहको निर्वाचनले पनि प्रष्ट देखाएको छ। यति मात्र होइन, प्रदेश सरकारको क्याविनेटमासमेत महिला सहभागिता शून्य रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.