|

बागलुङ : बजेट आउँदा बागलुङका नागरिकहरुले चासो दिएर सुन्ने भनेको उत्तरगङ्गा जलाशययुक्त आयोजना के होला? तर यस पटकको बजेट तथा कार्यक्रममा बागलुङको बलेवा विमानस्थल बाहेक अन्य कुनै ठूला आयोजना समावेश भएनन्।

बागलुङले संघीय मन्त्री पाएको र बागलुङ क्षेत्र नम्बर २ बाट निर्वाचित शिक्षा विज्ञान तथा मन्त्री देवेन्द्र पौडेलको क्षेत्रमा पर्ने उत्तरगङ्गा जलाशय युक्त आयोजना सरकारको प्राथमिकतामा पर्न नसक्दा यहाँका स्थानीयहरुले दुखेसो पोखेका छन्।

गत वर्षदेखि चर्चामा रहेको र सरकारले अध्ययन थाल्ने भनेको बागलुङको अछेते देखि गलकोट सम्मको सुरुङमार्गको बजेटमा कहीँ कतै नाम आएको छैन। कालोपत्रे भएर सञ्चालनको तयारीको रुपमा रहेको बलेवा विमानस्थललाई भने सरकारले बजेट तथा कार्यक्रममै राखेर सम्बोधन गरेको छ।

कालोपत्रे भएर सञ्चालनको लागि तयारी रहेको विमानस्थललाई स्तरोन्नति गर्ने बजेटमा उल्लेख गरेपनि उत्तरगङ्गा जलाशययुक्त आयोजना र अछेते–गलकोट सुरुङ मार्ग नअटाएको हो। सरकारले उत्तरगङ्गा जलाशययुक्त जलविद्युत आयोजनालाई हाल सम्म प्राथमिकतामा राख्दै आएको भएपनि अर्थमन्त्री जनार्दन शर्मा यसको विपक्षमा भएका कारण बजेटमा आउन नसकेको विपक्षी दलका नेताहरुले बताएका छन्।

उत्तरगङ्गा जलाशययुक्त जलविद्युत आयोजना नेपालको सस्तो आयोजनाका रुपमा रहेको अध्ययन प्रतिवेदनले जनाएको छ। तर, उक्त आयोजनाको पानी निसिखोला नझारेर रुकुम खसाल्ने केही माओवादी नेताको नियतका कारण लामो समयदेखि अन्योलमा रहेको जलाशययुक्त जलविद्युत आयोजना बजेट भाषणबाटै गायब भएको छ। उर्जामन्त्री हुँदा जनार्दन शर्माले ढोरपाटनको पानी रुकुम खसाल्न लविङ गरेका थिए।​

उनले नै अहिले अर्थमन्त्री हुँदा बागलुङसँगै गण्डकी प्रदेशको भविष्यसँग जोडिएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत आयोजना बजेट भाषणमै नपारेको स्थानीयको भनाई छ।

बागलुङमा ठूलाे आयोजना सम्पन्न हुँदा नेपालकै अर्थतन्त्रमा योगदान पुर्‍याउने आयोजनामा भइरहेको ढिलासुस्तीप्रति स्थानीयले विरोध गर्दै आएका छन्।

यस्तै गत वर्षको गण्डकी प्रदेश सरकारले बागलुङको अछेते हुँदै गलकोट पुग्नका लागि सुरुङमार्गको अध्ययन गर्ने र जसका लागि संघीय सरकारलाई आग्रह गर्ने जनाएको थियो। यसपटक संघीय मन्त्रीनै पाएको बागलुङले सुरुङमार्गको अध्ययन अगाडि बढाउनेमा आशावादी रहेका थिए।

दुवै ठूला योजना बजेटमा नपरेपछि यहाँका जनता रुष्ट बनेका छन्। अहिलेको सरकारले समृद्धि तर्फ ध्यान नदिएर चुनाव लक्षित र वितरणमुखी बजेट ल्याएको नेकपा एमाले बागलुङका प्रचार तथा प्रकाशन विभाग प्रमुख चन्द्रप्रकाश शर्माले बताए।

‘केपी ओलीको पालामा बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रेको लागि काम भएको थियो, अहिले पुनः स्तरोन्नति गर्ने भन्ने आएको रहेछ, त्यो निकै अस्पष्ट छ। सरकारले नियमित चलाउने भन्न सक्नु पर्दथ्यो’ शर्माले भने ‘उत्तरगङ्गा जलाशययुक्त जलविद्युत आयोजना रोक्न अहिलेका अर्थमन्त्री लाग्नुभएको थियो, त्यसैकोे परिणाम हो यो, सस्तोमा विद्युत उत्पादन गर्ने र हिउँद–वर्खामा समान विद्युत उत्पादन गर्ने आयोजनालाई अहिलेको सरकारले प्राथमिकता दिन नसक्नु बागलुङले जनताका लागि दुखद् हो,’ उनले भने।

त्यस्तै शर्माले सुरुङमार्ग बनाउने योजना अहिलेको सरकारले ल्याउन नसक्ने बताउदै वितरणमुखी बजेट ल्याउने सरकारले दीर्घकालीन योजना ल्याउन नसक्ने बताए। सरकारले ल्याएको बजेटमा बागलुङमा लामो समयदेखि चर्चामा रहेको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत आयोजना समावेश नहुँदा यहाँका जनताले दुख मानेका छन्।

सात करोड रुपैयाँमा स्तरोन्नतिसँगै बलेवा विमानस्थलको धावनमार्ग कालोपत्रे भइसकेको र थप पूर्वाधार निर्माणसँगै विमानस्थल सञ्चालन हुनेमा स्थानीयहरु आशावादी रहेका छन्। बलेवा विमानस्थल स्तरोन्नतिसँगै सञ्चालनमा ल्याउने सरकारको कदम प्रशंसनीय भएपनि बजेटमा उत्तरगङ्गा र सुरुङ मार्ग छुट्न नहुने स्थानीयको भनाई छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.