|

युईएफए नेसन्स लिगमा शुक्रबार राति भएका खेलमा उपाधि दाबेदार मानिएको फ्रान्स डेनमार्कसँग पराजित भएको छ। त्यस्तै बेल्जियम पनि नेदरल्याण्डसँग स्तब्ध हुँदा क्रोएसिया अस्ट्रियासँग अप्रत्यासित रूपमा फराकिलो हार भोग्न बाध्य बन्यो।

फ्रान्सले सुरुवाती अग्रता जोगाउन नसक्दा नेसन्स लिग ए ग्रुप १ को पहिलो राउण्डमा हार भोग्यो। फ्रान्सको घरेलु मैदानमा डेनमार्कले २–१ को जित निकाल्यो।

पेरिसमा भएको खेलमा डेनमार्क विरुद्ध ५१औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए। तर ६८औँ मिनेटमा एन्ड्रिएस कोर्निलिअसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए। डेनमार्कका लागि विजयी गोल भने एन्ड्रिएसले नै दुई मिनेट हुँदा गरेका थिए।

हारसँगै फ्रान्सको २० खेलसम्मको अपराजित यात्राको अन्त भएको छ।  फ्रान्स ११ नोभेम्वर २०२० मा फिनल्यान्डसँग २(० ले पराजित भएयता २० खेलमा अपराजित रहेको थियो।

नेदरल्याण्डले बेल्जियमलाई हरायो

बार्सिलोनाका फरवार्ड मेम्फिस डिपाएले उत्कृष्ट प्रदर्शन गरेपछि नेदरल्याण्डले युईएफए नेसन्स लिग ए ग्रुप ४ को पहिलो राउण्डको खेलमा प्रभावशाली जित निकालेको छ।

डच टोलीले घरेलु टोली बेल्जियममाथि ४–१ को फराकिलो जित निकाल्दा मेम्फिस डिपाएले दुई तथा स्टेभन वर्गवाइन र डेन्जेल डेम्फ्रेजले समान एक गोल गरेका थिए। ब्रसेल्समा भएको खेलमा बेल्जियमका लागि मिचे बात्सुयाईले एक गोल फर्काएका थिए।

क्रोएसिया स्तब्ध

विश्व उपविजेता क्रोएसियाले यूईएफए नेसन्स लिग ए ग्रुप ४ को पहिलो चरणको खेलमा फराकिलो हार भोगेको छ। क्रोएसियाको घरेलु मैदानमा भएको खेलमा अष्ट्रियाले ३–० को जित निकाल्यो।

घरेलु टोलीलाई फराकिलो हार चखाउने क्रममा अष्ट्रियाका  लागि मार्को एर्नाउटोभिक,  माइकल ग्रेगोरेट्स र मार्सेल सवित्जरले समान १–१ गोल गरे।

त्यस्तै काजाकस्तानले अजरबैजानलाई २-० ले पराजित गर्दा लातभियाले एन्डोरालाई ३–० ले पाखा लगायो। त्यस्तै बेलारुस स्लोभाकियासँग १–० ले पराजित हुँदा मोल्डोभाले लिक्टेन्सटाइनलाई २–० ले हरायो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.