|

काठमाडौं : बाँकेमा १६ वर्षीया किशोरीलाई बलात्कार अभियोगमा ७ जना पक्राउ परेका छन्।  १७ वर्षका २  र १६ वर्षका एक किशोरसहित ७ जनालाई आइतबार नियन्त्रणमा लिएको बाँकेका डिएसपी मधुसूदन न्यौपानेले थाहा खबरलाई जानकारी दिए।

बाँकेको बैजनाथ गाउँपालिका–८ बस्ने २३ वर्षीय राजकुमार थारू, विश्वनाथ थारू, विक्रम थारू र निराजन थारूसहित ३ किशोर पक्राउ परेका हुन्। 
इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खजुरा गाउँपालिका–५ चाइना इँट्टाभट्टा नजिक शंकास्पद रूपमा भे ३ प ३५२७ नम्बरको मोटरसाइकलमा ती किशोरीलाई २ जना पुरूषले मोटरसाइकलको बिचमा राखी हिँडिरहेको अवस्थामा आइतबार बिहान ४ बजे फेला पारी सोधपुछ गरेको थियो। 

सोही क्रममा बैजनाथ गाउँपालिका–८ बस्ने १७ वर्षीय किशोरले फेसबुकमार्फत चिनजान भई जन्मदिनको उत्सव मनाउन निम्ता दिएका र सोही क्रममा बलात्कार गरेको खुलेको हो।

जन्मोत्सव मनाउन गएकी किशोरीलाई मदिरापान गराई बैजनाथस्थित मानखोलाको छेउमा रहेको बंगुरको खोरमा बोलाई राजकुमार थारूलगायत ५ जनाले जबरजस्ती करणी गरेको खुलेको डिएसपी न्यौपानेले बताए। 

उनका अनुसार बलात्कारपछि उनीहरूले विश्वनाथ र अर्का एक किशोरलाई ती किशोरीलाई घरसम्म पुर्‍याउन लगाएका थिए। किशोरीलाई घरसम्म पुर्‍याउने क्रममा दुईजना पक्राउ परेपछि घटनाबारे खुल्न आएको प्रहरीले जनाएको छ।

पाँचजना बलात्कारका अभियुक्तसहित दुईजना सहयोगीलाई पनि मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको डिएसपी न्यौपानेले बताए।

यसैगरी, ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुरबाट एक युवक पक्राउ परेका छन्। 
ललितपुर महालक्ष्मी नगरपालिका–४ माडोल अफलटोल बस्ने भारत घर भएका २५ वर्षीय सन्दीप कुमार शर्मालाई आइतबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ। 

शर्माले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग इमाडोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.