|

काठमाडाैं : बच्चैदेखि सांगीतिक वातावरणमा हुर्किएका महेश काफ्लेलाई पछि गएर आफू पनि गायक बन्छु भन्ने थाहा थिएन। रेडियोमा बुवा भोजराज काफ्लेका गीत बज्थे, दाजु दिनेश काफ्लेले पनि सानै उमेरमा 'भन्नु नभाको' जस्तो सुपरहिट गीत गाएर ठूलो ख्याति कमाइसकेका थिए। जसले गर्दा उनको बाल मस्तिष्कमा गायक बन्ने रहर पलायो। 

बुवा गीतकार तथा संगीतकार भएकाले सानै उमेरमा गीत गाउने मौका पाए। 'सौतिनी आमा', 'सडक बालक' महेशले सानो उमेरमै गाएका चर्चित गीतमध्ये पर्छन्। गीत गाउने कलिलो रहर मात्रै भएका महेश उमेर बढ्दै जाँदा गीत संगीतबाट अलि पर पर हुँदै गए। 'नाच फिरिरी' ठूलो भएर गाएको महेशको पहिलो गीत हो। जसको शब्द र संगीत पनि महेशकै हो। उक्त गीतलाई युट्युबमा साढे ७ करोडभन्दा बढी पटक हेरिएको छ।

त्यतिमात्रै होइन उनको दोस्रो गीत 'माया बिरानी', तेस्रो गीत 'लज्जावती झार', चौथो गीत 'तातो गोली' सबै सुपरहिट गीत हुन्। यीबाहेक उनका 'पश्मिनाको सल' र केही दिनअघि मात्रै रचना रिमालको आवाजमा 'बर्को बेरेर' बोलको गीत सार्वजनिक भएको छ। आफ्नो करिअर कुन क्षेत्रमा बनाउने भनेर सोच्दा सूचीमै नपरेको संगीत अहिले महेशका लागि साधना हो। उनी बाँकी जीवन संगीतमै खर्चिन चाहन्छन्। 

प्रस्तुत छ गीतकार, संगीतकार तथा गायक महेश काफ्लेसँग गरिएको कुराकानीको सम्पादित अंश:

करिअर
बुवा संगीत क्षेत्रमा भएकाले सानैमा रेडियो नेपाल छिर्न पाइन्थ्यो, ठूला सर्जकहरूसँग भेट्न पाइन्थ्यो। शुरुवाती चरणमा मैले जति सिकेँ उहाँहरूले गरेको कुराकानी, सल्लाह सुझावहरू, बुवाका गीतहरूबाटै सिकेँ। त्योबाहेक संगीतको कुनै औपचारिक कक्षा लिएको छैन। 

बुवा आफैँ लेख्ने आफैँ गाउने भएकाले बच्चा बेलामा गीत गाउने मौका पाइयो। तर ठूलो हुँदै जाँदा कसरी कसरी संगीतबाट अलि पर हुँदै गइयो। १२ पढेपछि त्यो दूरी झनै बढ्यो। जुन क्षेत्रका सफल मान्छे देखे पनि त्यही गर्न पाए भन्ने हुन्थ्यो। तर ती कुराहरू क्षणिक थिए। 

सबै साथीहरू विदेश जाने लहर थियो। मलाई विदेश जान पनि मन लागेन। लोकसेवाको फर्म भरेँ तर परीक्षा दिइनँ। केही गर्ने, यतै गर्ने भन्ने थियो। तर यही गर्ने भन्ने थाहा थिएन। त्यस्तैमा एउटा टेलिभिजनमा पत्रकारिता गर्न पुगेँ। जहाँ मैले खेलकुद पत्रकारको रुपमा झण्डै ४ वर्ष काम गरेँ। 

नाच फिरिरी

पत्रकारको रुपमा काम गर्दा धेरै मान्छेहरू भेटिन थाले। चिनजान गर्ने क्रममा कति जनाले बच्चा बेलामा मैले गाएको गीतले चिन्न थाले। तिमी त गाउनुपर्ने मान्छे हौ भन्न थाले। शुरु शुरुमा त्यसलाई सामान्य रुपमा लिइरहेको थिएँ। बानी पनि परिसकेको थियो। तर त्यो क्रम बढ्दै गएपछि मान्छेहरूले मैले गाएको सुन्ने इच्छा प्रकट गर्न थाले। 

गीत कसरी लेख्ने, कसरी कम्पोज गर्ने भन्ने थाहा नपाउँदै पनि म लेखिरहन्थेँ। मान्छेहरूले गीत सुन्न चाहेका बेला म आफैँले लेखेका गीत सुनाउन थालेँ। मन पनि पराए। त्यसपछि भित्रबाट एउटा इच्छा जो लामो समयदेखि दबिएर बसेको थियो, निस्किन चाह्यो। 

त्यसपछि ‘नाच फिरिरी’को तयारी भयो। गीतको अडियो, भिडियो तयार भएर सार्वजनिक हुने वेलासम्ममा म अब फुलटाइम यतै दिन्छु भन्ने भइसकेको थियो। ‘नाच फिरिरी’ सार्वजनिक हुनु, मैले झण्डै ४ वर्षदेखि गरेको पत्रकारिता छोड्नुसँगै जस्तो भयो। 

पहिलाे गीतकाे सफलतापछि...

बच्चा वेलामा एउटा रहर मात्र थियो। बुवाले गीत बनाइदिनुभयो, हामीले गायौँ। तर यो अलि फरक थियो। आफैँले लेखेर, संगीत भरेर, गाएर सुख दुःख यसै क्षेत्रमा लाग्छु भनेर आफैँले सोचेर आएको थिएँ। ‘नाच फिरिरी’ म अझै पनि म्युजिक मै छु है भन्नको लागि मात्र थियो। तर गीतले अनपेक्षित सफलता पायो।

संगीतमा सफलता, असफलता, चर्चा पहिले नै देखेको थिएँ, दाइको बुवाको गीतहरूबाट। गीत हिट हुँदा कस्तो हुन्छ थाहा थियो तर आफैँले क्रिएट गरेको पहिलो गीत सफल हुँदाको अर्कै महत्व हुँदो रहेछ। 

भर्खर भर्खर टिकटक आएको थियो। सेलिब्रेटीहरूले आफ्नो गीतमा टिकटक बनाइदिँदा, मान्छेहरूले कभर बनाउँदा, गाडीमा आफ्नै गीत बजेको सुन्दाको खुशी अर्कै हुँदो रहेछ। हिजोसम्म यो गीत मलाई मात्र थाहा थियो, आज सबैले सुनिरहेका छन्, सिकेर गाइरहेका छन्, युट्युबमा दिनदिनै भ्युज बढिरहेको छ त्यो सबै कुराले दिने खुशी त छँदै थियो साथै एक किसिमको दबाब पनि महशुस भइरहेको थियो।

यसै क्षेत्रमा लाग्ने भनेर आइसकेपछि गीत लेखिराख्नु, गाइराख्नु मेरो काम हुन्थ्यो। जानी नजानी गरेको काम धेरैले मन पराएपछि अबको काम कस्तो निस्किने हो भन्ने डरजस्तो लाग्दो रहेछ। तर पछि डर मान्नु, दबाब महशुस गर्नु व्यर्थ रहेछ भन्ने कुरा बुझेँ।

सामान्य पब्लिक फिगर

म साधारण टाइपको मान्छे हो। सामान्य खान पाए सामान्य लाउन पाए मन लागेको ठाउँमा जान पाए पुग्यो भन्ने लाग्छ। कहिलेकाहिँ विभिन्न कार्यक्रमका लागि सज्जा धज्जा गर्नुपर्ने हुन्छ। त्यस्तो वेलामा कतिवेला सबै निकालेर फालौँ जस्तो हुन्छ। 

कहिलेकाहिँ मैले गाएको गीत लाखौँ मान्छेले हेर्छन्, सुन्छन्, मलाई चिन्छन् भन्ने कुरा बिर्सिन्छु। बाहिर हिँड्दा कसैले चिनेर बोलायो फोटो खिच्न भन्यो भने बल्ल म त यस्तो पो भइसकेँ भन्ने फिल हुन्छ। 

स्वभावले गर्दा धेरै मान्छेको अगाडि जान नपरे हुन्थ्यो, नयाँ नम्बरको फोन नउठाउन पाए पनि हुन्थ्यो, अन्तरवार्ताको लागि जान नपरे पनि हुन्थ्योजस्तो लाग्थ्यो। अहिले त्यसलाई सामान्य रुपमा लिने प्रयास गर्दैछु। हिजोको दिनसम्म कसैलाई मतलब थिएन। आज सबैले खोजिरहेका छन्। यसलाई एचिभमेन्टको रुपमा लिन थालेको छु।

पब्लिक फिगर बनेपछि यस्तो हुनु स्वाभाविक हो। योसँगै केही जिम्मेवारी पनि बोध गरेको छु। मैले नचाहे पनि धेरै मान्छेले मलाई चिन्नुहुन्छ, मलाई फलो गर्नुहुन्छ उहाँहरूले दिने मायाको सट्टामा माया नै बाँड्नुपर्छ भन्ने बुझ्दै छु।

घरको लागि सरप्राइज

मेरो इन्ट्रेस्ट म्युजिकमा बढ्दै गएको कुरा घरमा थाहा थिएन। मैले गरिरहेको काम छोड्छु भनेपछि बल्ल घरमा सेयर गरेको थिएँ। टेलिभिजनमा राम्रै पनि भइरहेको थियो। घरमा पनि अब यसले यही गर्छ भन्ने भएको थियो। सबै छोडेर म्युजिक गर्छु भन्दा म्युजिकल फेमिली भए पनि अलिकति अनौठो नै भयो। 

म्युजिक नै गरे पनि काम नै किन छोड्नुपर्‍यो भन्ने घरको कुरा थियो। तर गर्ने हो भने प्रायोरिटी नछुट्याई हुँदैन भन्ने मैले बुझिसकेको थिएँ। गीतहरू लगातार हिट भएपछि घरमा पनि विश्वास भयो। अहिले सबै खुशी हुनुहुन्छ।

अर्काे रुची

अभिनयमा पनि बच्चैदेखि रुची थियो। फिल्म हेरेर घर आएपछि ऐना हेर्ने, कपाल मिलाउने फिल्मको पात्र जस्तै बन्न खोज्ने त्यहीअनुसार कपडा मिलाउने गर्थें। त्यो फिल्म, अभिनयको रुची हो भन्ने पछि मात्र थाहा भयो। 

‘नाच फिरिरी’ सम्म आइपुग्दा अभिनयको रुची पनि भित्र कतै लुकिरहेको थियो। तर भित्रै लुकेको कुरा बिस्तारै आउँदो नै रहेछ। ‘नाच फिरिरी’मा अलिकति, ’माया बिरानी’मा अलिकति बढी पर्दामा देखिएँ। ‘लज्जावती झार’मा म आफैँ खेलेँ। जहाँबाट अभिनयमा आफ्नो कमजोरीहरू पनि थाहा पाउँदै गइयो। ‘पश्मिनाको सल’सम्म आइपुग्दा धेरै सहज भयो। 

गीत लेख्ने तरिका

ठ्याक्कै यसैगरी लेख्ने भन्ने तरिका त छैन। तर कहीँ कुनै भावना क्लिक हुन्छ। उक्त भावनालाई व्यक्त गर्ने केही शब्द आउँछन्। त्यसैलाई तन्काएर, वरिपरी घुमाएर गीत तयार हुन्छ। गीतमै एउटा कथा पनि भन्ने प्रयास मेरो रहन्छ। जस्तो ‘नाच फिरिरी’मा असारे झरी र माया प्रेमको कुरा छ, ‘माया बिरानी’मा प्रेम प्रस्ताव गरेको र अस्विकार गरेको कथा छ। 

कुनै गीतमा आफ्नै छायाँ पनि आउँछ जस्तो लज्जावती झार मेरै कथा प्रतिनिधित्व गर्ने गीत पनि हो। त्यो विषय कहीँ न कहीँ आफैँलाई रिलेट भएर आयो होला। कसैले भनेको थियो होला मलाई नै त्यसरी। जसले गर्दा लेख्नको लागि पनि सजिलो भयो। मैले गीत लेख्दा संगीत पनि सँगै गाँसिएर आउने गर्छ। त्यसलाई लम्ब्याउने, घटाउने, काँटछाँट गर्नुपरे गर्ने अर्को चरणको काम हुन्छ। 

र्‍यापदेखि क्लासिकल

म सबै विधाका गीतहरू सुन्छु। र्‍याप सुन्नुको छुट्टै मज्जा छ। क्लासिकल, सेमी क्लासिकलको छुट्टै मज्जा छ। आधुनिक, पप गीतहरूको पनि आफ्नै स्वाद छ। भविष्यमा भिन्न जनरा तथा आफ्नै जनराका पनि अरु आर्टिस्टसँग सहकार्य गर्ने इच्छा छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.