|

काठमाडौँ : बेलायत सरकारबाट अवकाश पाएका गोर्खा भूतपूर्व सैनिकमाथि भएको विभेद अन्त्यको माग सरकारले सम्बोधन नगरेको भन्दै ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठनले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भूतपूर्व गोर्खा सैनिक संगठनले आफ्ना माग सरकारले पूरा नगरेको भन्दै असार ३ गतेदेखि दोस्रो चरणको आन्दोलन घोषणा गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै ब्रिटिश–गोर्खा भूतपूर्व सैनिक संगठन सिङ्गापुर गोर्खाज विभागका प्रमुख पलबहादुर घर्तीले असार ३ गते काठमाडौंको रत्नपार्कस्थित शान्तिवाटिकामा शान्तिपूर्ण आन्दोलन गर्ने बताए।

उनले भूतपूर्व सैनिकहरूको माग सरकारले सम्बोधन गर्ने गरी विरोध प्रदर्शन तथा बेलायती राजदूतावास अगाडि एक घण्टा धर्ना गर्ने कार्यक्रम तय भएको बताए। प्रमुख घर्तीले राजदूतावासमार्फत बेलायती प्रधानमन्त्रीलाई ब्रिटिश–गोर्खा भूतपूर्व सैनिकका १६ बुँदे मागसहित ध्यानाकर्षण पत्र पुनः बुझाउने बताए।

उनले बेलायत सरकारलाई नेपाल सरकारले १६ बुँदे मागपत्र पूरा गर्न पहल नगरी बेवास्ता गरे भूतपूर्व गोर्खा सैनिक मानव अधिकार तथा जातीय विभेद सम्बन्धी अन्तरराष्ट्रिय संस्थाहरूको सहभागितामा देशव्यापी आन्दोलन गर्ने चेतावनी दिए।

प्रमुख घर्तीले सिङ्गापुर प्रहरी सेवाबाट अवकाश पाप्त गोर्खामाथि बेलायत र सिङ्गापुर सरकारबाट ठूलो अन्याय र चर्को विभेद भइरहेकाले त्यसको अन्त्यका पहलको माग गर्दै आए पनि सरकारले सुनुवाइ नगरेको बताए । उनले सरकारले कुनै सन्धि,सम्झौता बिना अहिलेसम्म पनि बेलायतले नेपालीलाई सिङ्गापुरका लागि भर्ती गरी पठाइरहेको भन्दै बेलायत, नेपाल र सिङ्गापुरमध्ये यसमा को जिम्मेवार छ भन्ने अन्योल रहेको बताए।

नेपाल सरकारले मुख्यतया सिङ्गापुर प्रहरीबाट अवकाशप्राप्त भूपु सैनिकलाई सिङ्गापुरका सैनिकसरह तलब, भत्ता, पेन्सन र अन्य सेवा सुविध समान गराउन पहल गर्न माग गरे। एउटै संस्थामा एकै प्रकारका काम गर्ने दुई देशका नागरिकहरुको तलव,भत्ता,पेन्सन र अन्य सेवा सुविधाबीच यस्तो अन्तर हुनु दुःखद पक्ष भएको उहाँको भनाइ छ।

सिङ्गापुर प्रहरीमा सेवारत हुँदासमेत गोर्खा प्रहरीका श्रीमती र उमेर पुगेका छोराछोरीहरूले उनीहरुको योग्यताअनुसार सिङ्गापुरमा कुनै काम गर्ने व्यवस्था गर्न सरकारले पहल गर्नुपर्ने बताए।

प्रमुख घर्तीले सिङ्गापुर र बेलायत सरकारले सिङ्गापुर गोर्खामाथि गरेका जातीय विभेद मानवअधिकारको दृष्टिकोण अनुचित रहेको समेत बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.