|

सुर्खेत : सार्वजानिक तथा सरकारी जग्गा मिचेर व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेका सबै जग्गा खोजी गरेको छ।

वीरेन्द्रनगर नगरपालिकाले नगरभित्रको सार्वजनिक जमिन खोजी गर्नुका साथै परम्परागत कुलो, नहर, बाटो र सार्वजनिक महत्वको क्षेत्र पहिचान गरी अतिक्रमण रोक्ने समेत निर्णय गरेको छ। सुर्खेत उपत्यका नगर विकास समिति लगायत अन्य सरकारी जग्गा खोजबिन गर्ने समेत निर्णय भएको छ।

नगरप्रमुख मोहनमाया ढकाल (भण्डारी)ले पहिलो कार्यपालिका बैठकले अतिक्रमण भएका जग्गा खोजबिन गर्ने निर्णय भएको भन्दै लगत लिने र हालको अवस्थाको वस्तुगत र यथार्थ विवरण पनि तयार गर्ने बताइन्। 

उनले सबैले देख्ने गरी सूचना बोर्ड राखेर सरकारी जग्गाको संरक्षण गरिने समेत बताइन । निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्ने, स्वास्थ्य सेवा प्रभावकारी गराई सामाजिक सुरक्षाको अनुभूति गराउने, ज्येष्ठ नागरिक, अति विपन्न, दीर्घरोगीको विवरण लिई निश्चित मापदण्ड तथा कार्यविधि तयार गर्ने निर्णयसमेत गरेको छ।

निःशुल्क  स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा ल्याइने, नगरक्षेत्रका ज्येष्ठ नागरिक तथा गर्भवती महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने पनि भण्डारीले बताइन् । यो उनको चुनावी प्रतिबद्धतामा पनि समेटिएको विषय थियो।

ढकालले वीरेन्द्रनगरको फोहोरमैला व्यवस्थापनका लागि अनिवार्य तालिका पेश गर्ने बताइन्। अनुगमनका क्रममा कमजोरी देखिए ठेक्का तोडिने जानकारी दिइन्। 

वर्षातमा डुबान हुने वीरेन्द्रनगर–१२ को तीनकुने क्षेत्र, वडा नं. १३ लगायतका पहाडी भागका साथै नगरका अन्य क्षेत्रमध्ये जटिल प्रकृतिको डुबान भएका क्षेत्र पहिचान गरी जनप्रतिनिधि र इञ्जिनियरसहितको प्राविधिक टोली खटाउने जनाइएको छ। 

टोलीले तयार पार्ने प्रतिवेदनको आधारमा दीर्घकालीन समाधानका लागि बजेट तथा स्रोत व्यवस्थापन गरी समाधान गर्ने नगर कार्यसमितिको निर्णय छ। छाडा पशु चौपायाको व्यवस्थापन गर्न गौशाला निर्माण गरिने भएको हो। त्यसका लागि प्रदेश सरकार र नगरपालिका बीच द्वीपक्षीय सम्झौता भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.