|

काठमाडौं : अभिनेत्री नीता ढुंगानाको निर्माणमा बन्ने नेपाली फिल्म 'ह्रस्व दीर्घ'मा तीन भारतीय कलाकार अनुबन्धित भएका छन्। चन्द्र पन्तको निर्देशनमा बन्ने फिल्ममा प्रदीप रावत, सुनील बर्मा र अलि अनुबन्धित भएका हुन्।

झण्डै चार दशकदेखि फिल्म क्षेत्रमा सक्रिय प्रदीप रावतले हिन्दीसँगै तेलुगु, तामील, भोजपुरी, कन्नडा, मलयालम, बंगाली, इंग्लिस, ओडिया भाषाका फिल्ममा अभिनय गरिसकेका छन्। ह्रस्व दीर्घ उनको पहिलो नेपाली फिल्म हुनेछ। उनका सर्फरोस, लगान, गजनी, से लगायतका फिल्म चर्चित छन्। रावत विशेषगरी खलपात्रको भूमिकामा देखिने गर्छन्।

त्यस्तै सुनील र अलि लामो समयदेखि तेलुगु फिल्ममा हाँस्य कलाकारको रुपमा काम गर्दै आएका छन्। झण्डै २ सय फिल्ममा अभिनय गरेका सुनील पछिल्लो समय पुष्पामा खलपात्रको रुपमा देखिएका थिए। खलपात्रको रुपमा देखिएको त्यो नै सुनीलको पहिलो फिल्म हो।

बाल कलाकारको रुपमै काम गर्न सुरु गरेका अलिले एक हजारभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। उनले एकै वर्षमा तीन दर्जन फिल्मसम्म खेलेका छन्। फिल्मकी अभिनेत्री तथा निर्माता नीताले तीनै जनालाई आफ्नो फिल्ममा अनुबन्धित गर्न पाउँदा उत्साहित रहेको जनाएकी छन्। फिल्ममा यी कलाकारको भूमिका कस्तो रहन्छ भन्नेबारे भने खुलाइएको छैन।​

हैदराबादमा अवस्थित संसारकै ठूलो स्टूडियो ‘रामोजी फिल्म सिटी’मा खिचिने फिल्ममा अन्य चर्चित कलाकारलाई पनि अनुबन्धित गर्ने तयारीमा निर्माण टोली रहेको छ। साउनदेखि छायांकनमा जाने फिल्ममा छायांकार पनि भारतकै कविरलाललाई अनुबन्धित गरिएको छ।​

नीता फिल्म्सको ब्यानरमा बन्ने फिल्ममा नीतासँगै हरिहर शर्माको मुख्य भूमिका रहनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.