|

बागलुङ : फोहोरको डङ्गुरले कालीगण्डकी करिडोर दुर्गन्धित बनाएको छ। बागलुङ बजार क्षेत्रबाट उठाइएको फोहोर अव्यवस्थित रुपमा कालीगण्डकी करिडोर छेउमा थुपार्दा करिडोरका यात्रुलाई समस्या भएको छ। सडक छेउमा अस्तव्यस्त रुपमा रहेको फोहोरले यात्रु पिरोलिएका छन्।

बागलुङ नगरपालिकाले चीन-भारत जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोरको मालढुङ्गामा जारको फोहोर थुपार्दै आएको छ। अव्यवस्थित रुपमा थुपारिएको फोहोरले यात्रु तथा स्थानीयले समस्या भोग्दै आएका छन्। यही सडकमार्फत दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्छन्। फोहोरको गन्धले गर्दा यात्रा गर्न निकै कठिनाइ भएको यात्रुको गुनासो छ।

सडक छेउमा रहेको डम्पिङ साइडबाट आएको गन्धले बाटोमा यात्रा गर्न निकै गाह्रो हुने गरेको यात्रु सुशील मानन्धरले बताए। उनले सम्बन्धित निकायले फोहोरको सही व्यवस्थापन गर्न नसके यसले थप जटिल समस्या निम्त्याउन सक्ने बताउँछन्।

‘बाटोको छेउमै यस्तो दुर्गन्ध छ, सयौँ मान्छे यही सडकबाटै यात्रा गरिरहेका हुन्छ, उनीहरूलाई कति असर पुर्‍याएको छ,’ मानन्धरले भने। चिसो मौसममा खासै बाहिर गन्ध नआए पनि गर्मीको समयमा निकै गन्हाउने र यसको गन्धका कारण यात्रुहरु बाटो हिँड्नै नसक्ने उनको भनाइ छ।

‘पुस माघको समयमा खास्सै गन्ध आउँदैन, यो गर्मी समयमा त निकै गन्हाउँछ, यसले त स्वास्थ्यमा निकै असर गरेको छ,’ उनले भने‚ ‘यस्तो सडक छेउभन्दा सरकारले अन्य कुनै ठाउँमा फोहोर व्यवस्थापन गर्न सके राम्रो हुन्थ्यो, यसले त बाहिरबाट आउने पर्यटकलाई पनि राम्रो सन्देश दिँदैन।’

दैनिक यही सडक भएर यात्रा गर्दा फोहोरको दुर्गन्धले आफू र यात्रु बिरामी पर्ने गरेको गाडीचालक ओमबहादुर श्रीसले बताए। उनले फोहोरको गन्धले यात्रुहरूले गाडीमै बान्ता गर्ने गरेको बताए।

‘यो बाटोमा गाडी चलाउन लागेको धेरै वर्ष भयो, पहिलेदेखि नै यस्तै समस्या थियो, अहिले पनि उस्तै छ, फोहोरको कारणले कति बिरामी परियो। यात्रु पनि धेरै बिरामी पर्ने गरेका छन्‚’ उनले भने‚ ‘गाडीमै फोहोरको गन्ध पसेर यात्रुले बान्ता गर्ने गरेका छन्, गाउँ जाने बाटो यही हो, अर्को बाटो छैन। यो फोहोरले हामीलाई निकै समस्या भएको छ।’

डम्पिङ साइटका रुपमा प्रयोग हुँदै आएको स्थलभन्दा केही माथि प्रसिद्ध कालिका मन्दिर हुँदा यहाँको फोहोरले गन्धका कारण मन्दिरमा समेत झिँगा भन्किँदा तिर्थालुलाई समेत असर पुगेको छ। नगरपालिकाले यस क्षेत्रमा वर्षौंदेखि फोहोर फाल्दै आएको छ। गाडीले बजार क्षेत्रको फोहोर दैनिक यही लगेर थुपार्दै आएको छ।

फोहोरको उचित व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले समेत योजना बनाउन शुरु गरेको नगर उपप्रमुख राजु खड्काले बताए। उनले यो समस्या लामो समयदेखि रहँदै आएको भन्दै अब यसको उचित व्यवस्थापनका लागि नगरपालिकामा छलफल भइरहेको बताए।

उपप्रमुख खड्काले फोहोर व्यवस्थापनका विषयमा आफूहरु गम्भीर भएर लागेको भन्दै यसको उपयुक्त व्यवस्थापन गर्नेमा आफूहरु प्रतिबद्ध भएको बताए। ‘यहाँको फोहोरको विषयमा हामीले नगरपालिकामा छलफल चलाएका छौँ, हामीहरू पनि गम्भीर छौँ यसबारे यसको सही व्यवस्थापन हुनेछ‚’ उपमेयर खड्काले भने‚ ‘यस ठाउँको विकल्प पनि खोज्नेछौँ र फोहोरलाई सही व्यवस्थापन गर्ने छौँ।’

अव्यवस्थित रुपमा थुपारिएको फोहोरको बारेमा धेरै पहिलेदेखि आलोचना आइरहेको छ। नागरिकको स्वास्थ्यका हिसाबले पनि यस क्षेत्र डम्पिङ साइडका रुपमा प्रयोग गर्नु नहुने देखिन्छ। बागलुङ जिल्ला प्रवेशद्वार नजिकै रहेको डम्पिङ साइट उपयुक्त स्थानमा नभएको स्थानीयहरूको भनाइ छ।

डम्पिङ साइट नजिक रहेको बस्तीमा समेत फोहोरको गन्धले सताइरहेको स्थानीयको भनाइ छ। हावा लाग्ने बित्तिकै फोहोरका टुक्राटाक्री उडेर घरभित्रै आउने उनीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.