|

काठमाडौं : वैशाख महिनामा मूल्य वृद्धिदर करिब ८ प्रतिशत पुगेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको रिपोर्ट अनुसार वैशाख महिनामा उपभोक्ता मूल्यवृद्धि दर ७ दशमलव ८७ प्रतिशत रहेको छ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मूल्यवृद्धि ३ दशमलव ६५ प्रतिशत रहेको थियो। गत दश महिनामा खाद्य तथा पेय पदार्थ समूहको ७ दशमलव १३ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८ दशमलव ४५ प्रतिशत रहेको छ।

२०७८ वैशाख महिनाको तुलनामा २०७९ वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेलको मूल्यवृद्धि २४.८६ प्रतिशत, फलफूलमा १२.६१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डामा ११.३० प्रतिशत, दाल तथा गेडागुडीमा १०.५३ प्रतिशत र सूर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि  ९.७० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

साथै गैर खाद्य तथा सेवा समूह अन्तर्गतको मुद्रास्फीति यातायातमा २१ दशमलव ८१, शिक्षामा ११ दशमलव ६४ प्रतिशत  र मनोरञ्जन तथा संस्कृति उपसमूहको मुद्रास्फीति ८ दशमलव २१ प्रतिशत रहेको छ।

यसैगरी, देशमा भित्रिने भन्दा बाहिरिने मुद्राको मात्रामा वृद्धि भएको छ। चालू आर्थिक वर्षको १० महिनाको विवरण अनुसार शोधनान्तर स्थिति दुई खर्ब ८८ अर्ब ५० करोड रुपैँयाले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु. सात अर्ब ७५ करोडले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा पाँच करोड ५४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ४१ करोडले घाटामा रहेको पाइएको छ।

कूल विदेशी विनिमय सञ्चितिमा पनि १८ प्रतिशतले कमी आएको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार २०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड रुपैँया बराबर रहेको विदेशी विनिमय सञ्चिति यही वैशाख मसान्तमा ११ खर्ब ४६ अर्ब ८८ करोडमा कायम भएको छ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २१ दशमलव १ प्रतिशतले कमी आई ९ अर्ब २८ करोड कायम भएको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.