संखुवासभा : चालू आर्थिक वर्षमा सङ्खुवासभामा ३ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।
पूर्वाधार विकास कार्यालय संखुवासभाले यो आर्थिक वर्षमा ३ वटा झोलुङ्गे पुल निर्माण गरेको छ। संखुवासभाका मकालु गाउँपालिका–६ बेन्देकसुवा खोलामा पूर्वाधार विकास कार्यालयले झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको हाे।
बेन्देकसुवा खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न गरी सञ्चालनमा आएको पूर्वाधार विकास कार्यालय संखुवासभाका प्रमुख शैलेन्द्र सिंहले जानकारी दिए। झोलुङ्गे पुल निर्माण भएपछि मकालु –६ कै दुई गाउँ जोडिएका छन्। पुल निर्माण भएपछि वालिङका स्थानीयलाई आवतजावतमा सहज भएको छ।
१ करोड ८ लाख ४८ हजार लागतमा निर्माण भएको पुलको लम्बाई १३३ मिटर रहेको छ। बेन्देकसुवाको झोलुङ्गे पुल सिर्जना एण्ड सुमन एसोसियट जेभीले निर्माण गरेको हो। उक्त क्षेत्रमा पुल नहुँदा स्थानीयले बर्खायाममा समस्या झेल्ने गरेका थिए। यसभन्दा अगाडि त्यहाँका नागरिकले जोखिम मोलेर काठको पुलबाट यात्रा गर्दै आएका थिए।
यसैगरी तेह्रथुमका माङ्सेवा खोला र खोरङ्गा खोलामा दुईवटा झोलुङ्गे पुल निर्माण सम्पन भएका छन्। तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नम्बर ३ र ४ जोड्ने खोरङ्गा खोला र मेन्छयायेम गाउँपालिका ५ यो आर्थिक बर्षमा पुल सम्पन्न भई सञ्चालनमा आएको पूर्वाधार कार्यालय प्रमुख सिंहले बताए।
पूर्वाधार कार्यालयले ९ वटा मुख्यमन्त्री ग्रामीण सडक निर्माण सम्पन्न गरिसकेको जनाएको छ। त्यस्तै ४ वटा बहुबर्षे सडक निर्माण चरणमा रहेका छन्। पूर्वाधार कार्यालयले निर्माण गरेको हेवा खोलाको मोटरेबल पक्की पुल ६ महिना अघिदेखि सञ्चालनमा आएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।