|

कञ्चनपुर :  पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै पैदल मार्गबाट सन् २०२२ को पाँच महिनाको अवधिमा ९५ जना विदेशी पर्यटक भित्रिएका छन्।

कोरोना महामारीका कारण सीमा नाकाहुँदैआउने पर्यटकको संख्या घटेको हो। अध्यागमन कार्यालय गड्डाचौकीका सुचना अधिकारी पदमराज भट्टका अनुसार जनवरी महिनामा १७, फ्रेबुअरी महिनामा ७, मार्च महिनामा २९, अप्रिल महिनामा २२ र मे महिनामा २२ जना पर्यटक मात्रै सीमा नाका भएर भित्रिएका छन्।

सीमा नाका हुँदै भारत तर्फ जाने पर्यटकको संख्या भने शून्य रहेको छ। सीमा नाका हुँदै भारत जाने पर्यटकलाई भारतले सीमा नाका खुला नगर्दा पर्यटक जाने क्रम रोकिएको छ।

‘नेपालका केही सीमा नाका मात्रै भारत तर्फ जाने पर्यटकका लागि भारतले खुला गरेको छ’, सुचना अधिकारी भट्टले भने, ‘गड्डाचौकीहुँदैभारत तर्फ विदेशी पर्यटकलाई जान भारतले रोक लगाएको छ।’

‘नेपाल भित्रिने विदेशी पर्यटकलाई भारतले सीमा नाकामा रोकटोक गरेको छैन। नेपाल भएर भारत तर्फ जानेलाई सन् २०२१ को डिसेम्बर देखि हाल सम्म जान दिएको छैन। केन्द्रबाटै केही सीमा नाका मात्रै भारत तर्फ जाने विदेशी पर्यटकका लागि खुला रहेका छन्’, उनले भने।

गत वर्षको यहि अवधिमा सीमा नाका हुँदै आउने पर्यटकको संख्या भने शून्य रहेको थियो।  कोरोनाको संक्रमण घटे सँगै विस्तारै विदेशी पर्यटक सीमा नाकाहुँदैआउन थालेका छन्।

सीमा नाकाहुँदैनेपाल भित्रिने विदेशी पर्यटकमा विशेष गरी भारतमा बस्दै आएकाहरू रहेका छन्। भारतमा छ महिना बसेका विदेशी पर्यटकले देश छोडनु पर्ने नियम रहेको छ। ती विदेशी पर्यटकहरू छ महिना अवधि पुगेपछि नेपाल आउने गरेका छन्। पुनः भारत फर्कनका लागि उनीहरूले अर्को सीमा नाकाको प्रयोग गर्ने गरेका छन्।

भारतमा बस्ने विदेशी पर्यटकहरूले नेपाल आएपछि अधिकांसले १५ दिनको भिषा लगाउने गरेका छन्। विदेशी पर्यटकलाई न्यूनतम १५ दिनको भिषा दिइने गरेको छ। जसका लागि भिषा शुल्क ३० डलर लाग्ने गर्दछ। ३० दिनको भिषाका लागि ५० डलर र ९० दिनको भिषाका लागि १२५ डलर शुल्क लाग्ने गरेको अध्यागमन कार्यालयले जनाएको छ।

अध्यागमन कार्यालयको तथ्यांक अनुसार सन् २०२१ जनवरीदेखि जुलाई महिना सम्म सीमा नाका हुँदै भित्रिने पर्यटकको संख्या शून्य रहेको थियो। अगष्ट देखि डिसेम्बर सम्म ५८ जना पर्यटक मात्रै भित्रिएका थिए। सोही अवधिमा सीमा नाका भएर ६० जना पर्यटक बाहिरिएका थिए।

 सन् २०२० को जनवरी देखि मार्च महिना सम्म ६१८ जना विदेशी पर्यटक भित्रिएका थिए। अप्रिल देखि सेप्टेम्बर महिना सम्म सीमा नाका हुँदै आउने पर्यटकको संख्या शून्य रहेको थियो।

अक्टुवर महिना मात्रै दुई जना विदेशी पर्यटक भित्रिएका थिए। नोभेम्बर र डिसेम्बर महिनामा पर्यटकीय गतिविधि शून्य रहेको थियो। सन् २०२० मा सीमा नाका हुँदै ५१९ पर्यटक बाहिरिएका थिए।

सन् २०१९ मा दुई हजार २९२ पर्यटक भित्रिएका थिए भने सोही अवधिमा ६२० पर्यटक बाहिरिएका थिए। सन् २०१८ मा दुई हजार ९३० पर्यटक भित्रिएका र  दुई हजार २२२ पर्यटक बाहिरिएका थिए।

यसैगरी, सन् २०१७ मा दुई हजार ७४५ पर्यटक भित्रिएकोमा एक हजार ७८९ पर्यटक बाहिरिएका थिए। सन् २०१६ मा दुई हजार ५८२ पर्यटक भित्रिएकोमा एक हजार ५५९ पर्यटक बाहिरिएका थिए।

विदेशी पर्यटक संग नगद रकम नभई कार्ड मात्रै हुने गर्दछ। कार्ड स्वाईप गर्ने मेसिनको व्यवस्था कार्यालयमा नभएको, नजिकमा कुनै पनि बैंकको शाखा नभएको र मनि चेन्जरमा विदेशी पैशाको कारोवार नहुने गरेकाले पर्यटकलाई समस्या हुने गरेको सुचना अधिकारी भट्टले बताए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.