|

हेटौंडा : विभागीय त्रिभुवन आर्मी क्लब चौथो स्थानीय तह शहीद स्मृति अन्तरराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ।

घरेलु टोली विजय युथ क्लब हेटौैंडालाई पराजित गर्दै आर्मी लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा सोमबार भएको फाइनलमा घरेलु टोली विजय युथलाई २–१ ले पराजित गर्दै आर्मीले उपाधी चुमेको छ। कप्तान भरत खवास र कमल बहादुर थापाको योगदानमा आर्मी च्याम्पियन बन्न सफल भयो।

खेलको १५औं मिनेटमा कप्तान खवासको गोलबाट आर्मीले शुरुवाती अग्रता लिन सफल भएको थियो। उनले टेकबहादुर बुढाथोकीको पासलाई सुन्दर फिनिसको नमुना पेश गरेका थिए। त्यसको १० मिनेटपछि घरेलु टोलीले बराबरी गोल फर्काउन सफल भयो। घरेलु टोली विजय युथका डोना थापाले पेनाल्टीमार्फत एक गोल फर्काए।

युद्ध शाहीले पेनाल्टी बक्समा विमल रानालाई फउल गरेपछि रेफ्रीले विजय युथलाई पेनाल्टी प्रदान गर्दा थापाले घरेलु टोलीलाई एक गोलको योगदान लिए। दोस्रो हाफको शुरुमै कमलबहादुर थापाले गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए। लगत्तै आर्मीले पेनाल्टीको अवसर पाए पनि दिनेश हेन्जनले गोल गर्न नसक्दा आर्मी थप अग्रता लिनबाट चुक्यो।

विजय युथका कप्तान तथा गोलरक्षक अशोक बरालले सन्तोष केसीलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा दिनेशले गोल गर्न सकेनन्। त्यसपछि थप गोल निस्कन नसक्दा आर्मी विजयी हुँदै च्याम्पियन बन्न सफल भयो। आर्मीले गत सिजन पनि च्याम्पियन बन्ने क्रममा विजय युथलाई नै पराजित गरेको थियो।

उपाधिसँगै आर्मीले १५ लाख रूपैयाँ र शिल्ड हात पारेको छ। दोस्रो भएको विजय युथले १० लाख रूपैयाँमा चित्त बुझाएको छ। मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा १२ टोलीहरूको सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.