|

काठमाडौं : पछिल्लो दुई सातादेखि निरन्तर रुपमा गिरावट आएको नेप्से बुधबार पनि उच्च अंकले गिरावट आएको छ।

बुधवार नेप्से परिसूचक २९.८९ अंक घटेर १९६६.३७ बिन्दुमा झरेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स ४.६० अंक घटेको छ भने फ्लोट इण्डेक्स २.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७७ अंक घटेको छ।

बुधवार कारोबारमा आएका २२९ कम्पनीको ४१ लाख ८२ हजार कित्ता शेयर १ अर्ब ४९ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। मंगलवारको तुलनामा नेप्से कारोबार रकम सामान्य अंकले बढेको छ। मंगलवार १ अर्ब १८ करोड ५५ लाख ४६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेका छन्। जसमध्ये वित्त, जलविद्युत, लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेका छन् भने बैंकिङ्ग, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

बुधवार नेप्से परिसूचक ओरालो लागेपनि दुई वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा आँधीखोला लघुवित्त र सीवाईसी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यता,बलेफी हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, माउण्टेन हाइड्रो, शिखर इन्स्योरेन्स शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा १२ करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। हिमालयन डिष्टिलरीको ५ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.