|

काठमाडौं : यतिवेला श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ विदेश भ्रमणका लागि दौडधूप गरिरहेका छन्। मन्त्रालयका अनुसार मन्त्रीको जिम्मेवारी सम्हालेको ८ महिनामा श्रेष्ठ ५ पटक विदेश भ्रमण गरिसकेका छन्।

नेपालीको मुख्य श्रम गन्तव्य मुलुकमा रहेको पारिश्रमिक, सुरक्षा समस्या साथै श्रम सम्झौता नवीकरणका लागि विदेश भ्रमण गरिरहेको भनाइ छ। २२ असोज २०७८ मा श्रम मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री श्रेष्ठ मलेसिया, युएई (दुईपटक), कतार, सेसेल्सलगायत देश भ्रमण गरेका थिए। उनी आफ्नो टोलीमा सचिव, सहसचिवलगायत विभिन्न कर्मचारीसमेत लिएर विदेश भ्रमणमा निस्किएका थिए। मन्त्रालयले उनको विदेश भ्रमणमा निकै फलदायी रहेको दाबी गर्दै आएको छ। 

गत १४ वैशाखमा मन्त्रालयका सचिव, सहसचिव सहितको टोली लिएर मलेसिया भ्रमणमा गए उनी। पाँचदिने भ्रमणमा गएका मन्त्री श्रेष्ठले नेपाली कामदारको सुरक्षा, बिमा, पारिश्रमिक लगायतका विषयमा छलफल गरेको बताइन्छ।

सो क्रममा मलेसियाका मानव संशाधनमन्त्री दातुक सेरी एम. सराभनन र गृहमन्त्री हम्जा बिन जैनुदिनसँग छलफल भएको थियो। जसमा नेपाली श्रमिकको पारिश्रमिक वृद्धि, सुरक्षा स्वास्थ्य बिमालगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको थियो। निकै वर्षअघि गरेको श्रम सम्झौता नवीकरण गर्नेबारे समेत उठाएको उनको भनाइ थियो।

न्यून पारिश्रमिकका काम गर्दै आएका श्रमिकको समस्या सम्बोधन गर्ने विषयमा छलफल भएको उनले बताएका थिए। मलेसियामा क्रियाशील गैरआवासीय नेपाली संघका पदाधिकारीसँग मलेसियामा रहेका नेपालीको रोजगार तथा व्यवसायसँग सम्बन्धित विषयमा छलफलसमेत  उनले गरेका थिए। 

नेपालबाट भिजिट भिसामा लुकिछिपी युएई गई अलपत्र परेको खबर आएसँगै मन्त्री श्रेष्ठ हान्निएर युएई पुगेका थिए। नेपाल र युएईबीच हुने संयुक्त समिति बैठकमा सहभागी  हुन गएका थिए। युएईका मानव संशाधनमन्त्री अब्दुल रहमानसँग श्रममन्त्री श्रेष्ठले भिजिट भिसामा त्यहाँ पुगेका नेपालीको विषयमा छलफल गरेर समस्यामा परेका नेपालीहरूलाई उद्धारका गर्न आग्रहसमेत गरेका थिए। 

युएईमा नेपाली कामदारको सेवासुविधा, युएईले विदेशी कामदारका हकमा गरेको श्रम कानुन सुधार कार्यान्वयन, यहाँ कार्यरत नेपाली कामदारले भोगिरहेको समस्या र रोजगार सुरक्षाबारे छलफल भएको मन्त्रालय बताउँछ। छलफलमा नेपालले गरेको प्रस्तावअनुसार काम भइरहेको मन्त्रालयको दाबी छ।

युएईसँग सन् २०१९ मा भएको श्रम सम्झौता कार्यान्वयनमा देखिएका समस्या समाधान, कामदारको शून्य लागतको विषयमा कुराकानी भएको थियो। 

मन्त्री श्रेष्ठ अफ्रिकी मुलुक गणतन्त्र सेसेल्स पुगेको थियो। रोजगारीका लागि नेपाली श्रमिक लैजान गणतन्त्र सिसेल्सबाट आएको श्रम सम्झौताको प्रस्ताव, श्रम सम्झौताका लागि मिति तय र सेसेल्समा कस्ता क्षेत्रमा रोजगारी दिने भनेर छलफल भएको थियो। ​सेसेल्समा वार्षिक १० हजार कामदार पठाउने छलफल भएको थियो।

त्यसलगत्तै मन्त्री श्रेष्ठ कतार भ्रमणमा गएका थिए। कतारसँगको श्रम सम्झौता नवीकरणबारे उच्चस्तरीय छलफल भएको श्रममन्त्री श्रेष्ठका प्रेस सल्लाहकार तेजप्रसाद वाग्लेले बताए। गत डिसेम्बरमा नेपालमा भएको नेपाल–कतार संयुक्त समितिको चौथो बैठकले सन् २००५ मा भएको श्रम सम्झौता पुनरवलोकन गर्ने लगायतका निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.