|

विराटनगर  : प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले वास्तविक धरातलमा टेकेर बजेट आएको कारण कार्यान्वयन गर्न समस्या नहुने बताएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्व मुख्यमन्त्री शेरधन राईले बजेट गठबन्धनको सरकार जस्तो गन्तव्यहीन रहेको र बजेट वास्तविक धरातलभन्दा बाहिर रहेको बताएका थिए।

बिहीबार विराटनगरमा आगामी आर्थिक वर्ष ०७९।८० को बजेट छलफल तथा अन्तरसंवाद कार्यक्रममा बोल्दै मन्त्री आङ्बोले पूर्व मुख्यमन्त्री राईको टिप्पणीको जवाफमा यस्तो बताएका हुन्। 

उनले संसद्‌को भावना सम्बोधनका लागि प्रदेश निर्वाचन क्षेत्र विशेष कार्यक्रम बजेटमा समावेश गरेको बताउँदै उनले प्रदेशका ६० प्रतिशत बहुवर्षीय आयोजना आगामी वर्षमै सम्पन्न हुने बताए।

प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि प्रदेश सांसदले जनही १ करोड खर्च गर्न पाउने गरी ९० करोड बजेट विनियोजन गरेको थियो। ९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा हाल ९० सांसद छन्।

बजेट सार्वजनिकपछि प्रतिपक्षी दलले चर्को आलोचना गरेको भए पनि आफू निर्वाचन क्षेत्र विशेष कार्यक्रमको विपक्षमा रहे पनि सांसदहरूको आग्रहमा बजेटमा समेटिएको विषयलाई प्रतिपक्षले नै ताली बजाएको उनले बताए।

उनले भने‚ ‘निर्वाचन क्षेत्र विशेष कार्यक्रमको विपक्षमा रहे पनि हिजो बजेट भाषणमा प्रतिपक्ष (नेकपा एमाले)ले धेरै ताली बजाउनु भयो।’

उनले निर्वाचन क्षेत्र विशेष कार्यक्रमको खर्च आगामी निर्वाचनअघि नै खर्च हुने बताउँदै स्थानीय तहमार्फत बजेट खर्च हुने भएकाले विगतको जस्तो आलोचना नहुने उनको भनाइ छ।

प्रदेश सरकारले सहिद परिवारको सम्मानमा आर्थिक सहयोगको घोषणा गरेको विषयमा माओवादी केन्द्रित रहेको भन्ने विषयमा जवाफ दिँदै  सहिदहरूको योगदानले देशमा राजनीतिक परिवर्तन आएको र देश संघीयता प्राप्त भएर नै आफूहरू सरकारमा रहेकाले यो विषयलाई सकारात्मक लिन आग्रह गरे।

 ‘फेरि अर्को पटक यही कार्यक्रम दोहोर्‍याउँदा प्रश्न उठ्छ,’ उनले भने‘,समग्र १ नम्बर प्रदेशमा दशवर्षे जनयुद्धमा, जनआन्दोलनको क्रममा मधेश आन्दोलन र जनजाति आन्दोलनमा ज्यान गुमाएर जसले संघीयतालाई ल्याए, व्यवस्थालाई ल्याए पहिलो चोटि हामीले केही क्षतिपूर्ति र राहतको व्यवस्था गरेका छौँ।’

उनले राजस्वको प्रसंगमा राजस्वको दायरा अलिकति फराकिलो भएको बताए। पर्यटन, मनोरञ्जनको क्षेत्र, प्राकृतिक स्रोत साधनको उपयोग गर्दा, यातायात जस्ता विभिन्न विषयलाई बजेटमा दायरा केही फराकिलो बनाएको उनले प्रस्ट पारे।

उनले कोभिडको समय राजस्वको दर वृद्धि नगरेको बताउँदै कोभिड नियन्त्रणमा आएपछि राजस्वमा केही सानो अंकमा राजस्वको दर बढाएको र दायरा पनि फराकिलो बनाएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.