|

बागलुङ : शान्त र मनोरम वातावरण रहेको नेपालकै एक मात्र शिकार आरक्ष क्षेत्र ढोरपाटनमा आन्तरिक पर्यटकको आमगनमा वृद्धि भएको छ। पर्यटकसँगै चालु आर्थिक वर्षमा राजश्व समेत वृद्धि भएको छ। ढोरपाटन सडक सञ्जालले जोडिनु पूर्व आन्तरिक पर्यटक समेत निकै कम पुग्ने गर्थे। विदेशी मात्रै शिकार खेल्न आउने गर्थे।

उनीहरु पैदल यात्रा नभई सोझै हेलिकप्टर मार्फत ढोरपाटन पुग्ने गर्थे। सडकको पहुँच, होटल सुविधा र तीव्र प्रचारप्रसारले गर्दा अहिले बाह्य मात्रै नभएर आन्तरिक पर्यटकहरु समेत त्यहाँ पुग्न थालेका छन्। ढोरपाटनमा शिकार खेल्न, ढोरपाटन उपत्यका भ्रमण गर्न, प्रसिद्ध ढोरबाराही मन्दिर दर्शन गर्न र शिकार आरक्ष कार्यालयको अवलोकनका लागि पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन्।

नाउर र झारलको वैधानिक शिकार खेल्न पाइने उक्त क्षेत्रमा विदेशी पर्यटकहरुले लाखौँ खर्च गरेर शिकार खेल्न त्यहाँ पुग्ने गरेका छन् भने आन्तरिक तथा अन्य पर्यटकहरुले शिकार आरक्ष क्षेत्रको भ्रमण तथा अवलोकन गर्ने गरेका छन्। बर्खा शुरु भएसँगै झण्डै ८ किलोमिटर क्षेत्रमा फैलिएको ढोरपाटन उपत्यकामा सयौँ प्रकारका आकर्षक फूलहरु फुलेका छन्।​

हरियाली ढोरपाटन उपत्यकाले त्यहाँ पुगेका पर्यटकहरुलाई नलोभ्याउने कुरै छैन। अहिले ढोरपाटनमा वर्षमा दुई याममा आन्तरिक तथा बाह्य पर्यटकहरु बढी मात्रमा पुग्ने गरेका छन्। तर पुष माघको बाक्लो हिमपात र साउन भदौमा भारी वर्षा हुँदा बाहेक अघि पछि पर्यटकहरुको अभाव भने ढोरपाटनलाई पर्दैन।​

ढोरपाट शिकार आरक्ष क्षेत्रमा गत आर्थिक वर्षदेखि ढोरपाटन प्रवेश गर्ने आन्तरिक पर्यटकहरुको समेत रेकर्ड राख्न थालिएको छ। ढोरपाटन प्रवेश स्थल देउरालीमा यसअघि बाह्य पर्यटकहरुले शुल्क तिरेर प्रवेश पाउने गरेकोमा गत आर्थिक वर्ष २०७७/०७८ देखि आन्तरिक पर्यटकहरुले समेत रु.१०० प्रवेश शुल्क तिर्ने प्रावधान ढोरपाटन शिकार आरक्षले बनाएको छ।

शिकार आरक्षका अनुसार आर्थिक वर्ष २०७६/०७७ सम्म विदेशी पर्यटकको मात्रै रेकर्ड राख्दै आएको आरक्षणले गत आर्थिक वर्षदेखि स्वदेशी पर्यटकरुको समेत रेकर्ड राख्दै आएको छ। आर्थिक वर्ष ०७२/०७३ मा ९१ विदेशी पर्यटक भ्रमणका लागि आएका आरक्षमा, ०७३/०७४ मा १३९ विदेशी पर्यटक, ०७४/०७५ मा ११९ विदेशी पर्यटक, ०७५/०७६ मा ४८० विदेशी पर्यटक र ०७६/०७७ मा ३२० विदेशी पर्यटक आएकोमा २०७७/०७८ मा विदेशी र स्वदेशी गरी ६ हजार ७०३ पर्यटक आएको र पर्यटकहरुको आगमन शुल्क वर्षेनी ६ लाखको हाराहारीमा हुने गरेकोमा हाल बढेर २० लाख पुगेको छ।

ढोरपाटन शिकार आरक्ष अवलोकनका लागि विदेशी र स्वदेशी सबैको रेकर्ड राख्न थालिएको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षक अधिकृत वीरेन्द्र प्रसाद कँडेलले जानकारी दिए।

‘२०४४ सालबाटै विदेशी पर्यटक आउने ढोरपाटनमा पछिल्लो एक दशक यता आन्तरिक पर्यटकहरु आउन थालेका हुन्, सडकको पहुँच पुग्नु, प्रचारप्रसार हुनु र होटल सुविधा थपिनुले यहाँ वर्षेनी पर्यटकहरु बढ्दै आएका हुन्’ कँडेलले भने ‘पर्यटकहरुको संख्यामा वृद्धि हुँदा राजश्वमा समेत वृद्धि भएको छ, विशेषगरी ढोरपाटनमा असोज, कात्तिक, मंसिर, चैत, वैशाख, जेठमा बढी पर्यटकहरु आउने गर्दछन्।’

बागलुङ, म्याग्दी र पूर्वी रुकुमसम्म फैलिएको आरक्षको मुख्य कार्यालय बागलुङको ढोरपाटन उपत्यकामा पर्दछ। ढोरपाटन उपत्यकामा ढोरपाटन भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरी २१ वटा साना ठूला होटल तथा घरबासहरु सञ्चालनमा आएका छन्। शिकार खेल्न विदेशी पर्यटक सोझै हेलिकप्टर मार्फत हिमाली क्षेत्रमा पुग्ने भए पनि अन्य विदेशी र आन्तरिक पर्यटक शिकार आरक्ष क्षेत्रमा आउने गरेका छन्।

कोरोनापछि ढोरपाटन आउने पर्यटकहरुमा वृद्धि भएको ढोरपाटन सामुदायिक होटलका सञ्चालक सुरज पौडेलले बताए। पौडेलले कोरोनाका कारण ठप्प बनेको ढोरपाटनको पर्यटन व्यवसाय विस्तारै फष्टाउन थालेको र क्रमश: आन्तरिक पर्यटकहरुको संख्यामा वृद्धि हुँदै आएको बताए।

‘अहिले घुम्ने संस्कारको विकास भएको छ, विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक यहाँ आउँछन्, विदेशी पर्यटकहरु समेत कहिलेकाहीँ आउँछन्, शिकारीहरु शिकार ब्लकमै आफ्नै व्यवस्थापनमा बस्छन्’ पौडेलले भने ‘ढोरपाटनमा पहिला खुलेको होटल यही हो, अहिले पर्यटकहरुको आगमन बढेसँगै २१ होटल तथा घरबास सञ्चालनमा छन्, सिजनको समयमा सबै होटल तथा घरबास भरिभराउ हुन्छन्।’

पर्यटकको आगमन बढेसँगै ढोरपाटनमा व्यापार–व्यवसाय पनि विस्तारै फस्टाउन थालेको र यहाँ उत्पादन भएको आलु, स्याउ लगायत स्थानीय उत्पादनले उचित मूल्य पाउन थालेको छ। सिजनको समयमा ढोरपाटनमा दैनिक चार/पाँच सयको हाराहारीमा आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गर्दछन्। हिमपात र बर्खाका कारण सडक अबरुद्ध हुँदा पर्यटकहरु भने शून्य हुन्छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.