|

म्याग्दी : मनसुन चाँडै सुरु भएर वर्षा हुन थालेपछि हिमाली जिल्ला म्याग्दीको लेकाली क्षेत्रमा धान रोपाइँ सुरु भएको छ ।

जिल्लाका मालिका, मंगला, रघुगंगा, अन्नपूर्ण, धौलागिरि गाउँपालिकाका सबै ठाउँमा  र बेनी  नगरपालिकाका ज्यामरुककोट, गौश्वारा, बिमिराबोट, तमाने, भकिम्ली, पुलाचौर, घतान लगायत ठाउँमा रोपाइँ सुरु भएको हो।

धान रोप्ने धमाधम भइसक्दा पनि रासायनिक मल नपाएको उनीहरू गुनासो गर्छन्। ‘पानी परेर खेतका गरा भरिएका छन्। ब्याडमा बीउ बढेर घाँस बन्न थालेको छ’,  बेनी नगरपालिका २ सानालेखका नारायण सापकोटाले भने, ‘मल पाइन्छ  कि भनेर केही दिन कुर्‍यौँ। अहिलेसम्म नपाएपछि मलविनै रोपाइँ सुरु गरेका छौं।’

जिल्लामा सामान्यतया असारको पहिलो सातापछि मात्रै रोपाइँ सुरु हुन्थ्यो। असारको १५ ताका किसानलाई चटारो पर्थ्यो। तर यो वर्ष छिटो पानी परेकाले रोपाइँ सुरु गरेको किसान बताउँछन्। पानीको समस्या नभएपछि मल विना नै उनीहरूले रोपाइँ गरेका हुन्।

कतिपय किसानले धानको बीउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन्।  ‘समयमै पानी परेकाले रासायनिक मल पाइए यस वर्ष धानको उत्पादन बढ्थ्यो’, पाखुका कृषक भविलाल घिमिरेले भने, मल बिना नै खेती गरेका छौँ। धानबाली पनि मकै बालीजस्तै हुने हो कि भन्ने चिन्ता छ।’ 

उनका अनुसार मकै बाली लगाएपछि एक पटक पनि रासायनिक मल हाल्न नपाएका कारण घोगा लागेको छैन। लागेको घोगामा पनि दाना लागेको छैन। 

त्यसैगरी रोपाइँका लागि कृषि मजदुरको पनि समस्या देखिएको किसान बताउँछन्। खेतमा काम गर्ने रोपाहार र लाठे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाइँमा जुटेका छन्। कृषि प्राविधिक जगत बानियाँले जनशक्ति नहुँदा किसानलाई समस्या परेको बताए।
 

  अघिल्लो समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.