|

काठमाडौं : वैशाखदेखि हालसम्म मुलुकभर जनावर आक्रमणका ३६ घटना भएका छन्। ती घटनामा ११ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार एकजना अझै बेपत्ता रहेका छन्। 
गत बिहीबार चितवनमा निगुरो टिप्न गएकी भरतपुर महानगरपालिका–२७ की २३ वर्षीया रेखा बस्नेतको बाघको आक्रमणबाट मृत्यु भयो। 

बाघले बस्नेतको शरीरको भाग खाइरहेको अवस्थामा फेला परेपछि सो बाघलाई धपाउनका लागि नेपाली सेनाको टोलीले पाँच राउण्ड हवाई फायरसमेत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए।

उनका अनुसार बिहान ७ बजे निगुरो टिप्न गएकी बस्नेतलाई स्थानीय राधाकृष्ण सामुदायिक वनमा बाघले आक्रमण गरेको थियो। आक्रमण भएको स्थानभन्दा ३०० मिटर पश्चिममा टाउको र छातीको भाग खाइसकेको अवस्थामा बस्नेतको शव भेटिएको थियो। 

त्यसकै  केही दिनअघि चितवनमै बाघको आक्रमणमा परी एक महिलाको ज्यान गएको थियो। जेठ १६ गते सोमबार दिउँसो राप्ती नगरपालिका १ मा चितवन राष्ट्रिय निकुञ्ज भित्र घाँस काट्न गएकी सोही ठाँउ बस्ने ५५ वर्षकी सोतीमाया तामाङलाई बाघले आक्रमण गर्दा घटनास्थलमा मृत्यु भएको थियो।

 यसैगरी, जेठ १७ गते भरतपुर– ११ मा रहेको नवजागृति सामुदायिक वनमा निउरो टिप्न गएका ५१ वर्षका चाथर कुमालको पनि बाघको आक्रमणबाट मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ।

जेठ २४ गते मंगलबार पनि  भरतपुर–२३ स्थित घैलाघारी सामुदायिक वनभित्र निउरो टिप्न गएका चार जनाको महिलाको समूहमाथि नै बाघले आक्रमण गरेको थियो।

तीनजना बाघको पञ्जाबाट फुत्किन भ्याए पनि घैलाघारीकी ५५ वर्षकी मंगली बोटेको बाघको आक्रमणबाट मृत्यु भएको थियो।  जेठ ८ गते भरतपुर १३ स्थित वेलसहर मध्यवर्ती सामुदायिक वनमा निउरो खोज्न गएकी ५२ वर्षीया फुलकुमारी बोटेको पनि बाघको आक्रमणबाट ज्यान गएको थियो।

​विशेषगरी चितवन र बर्दियामा बाघको आक्रमणमा वर्षेनी मानिसहरुको मृत्यु हुने गरेको छ। बाघलगायत जुनसुकै वन्यजन्तुले आफुलाई खतरा महसुर गरे आक्रमणमा उत्रिने गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णु श्रेष्ठले बताए।

वन्यजन्तु आक्रमणको जोखिम क्षेत्रमा परेका घर बस्ती वरपर झाडी नराख्ने, बत्ती बालेर राख्ने गर्नाले आक्रमणको जोखिम कम गर्न सकिने उनको भनाइ छ।

साथै वन क्षेत्रमा एक्लै प्रवेश नगर्न, बालबालिका तथा वृद्धवृद्धालाई जंगलमा नजान समेत श्रेष्ठले अनुरोध गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.