|
फाईल तस्वीर

डडेल्धुरा : डडेल्धुरामा पानी नपर्दा यहाँका किसानहरूलाई धान रोपाइँ गर्न समस्या भएको छ। आकाशे पानीको भरमा खेती गर्ने र नहर भएपनि खेतसम्म नपुगेकोले किसानहरूलाई धान रोप्न समस्या भएको हो।​

नदीमा पानीको सतह कम भएको र खेतसम्म नपुगेका कारण पाइपबाट खेतमा सिँचाइ गर्दा घन्टौं समय लाग्ने समस्या किसानहरूले झेल्नु परेको छ।

डडेल्धुराका केही ठाउँमा किसानहरूले आकाशे पानीको भरमा धान रोपाइँ गर्ने गरेका छन्। तर, असारको महिना लाग्दा पनि पर्याप्त पानी नपर्दा किसानहरूले रोपाइँ गर्न सकेका छैनन्।

असारको महिना सुरु भइसक्दा पनि पानी नपर्दा रोपाइँ गर्न समस्या भएको कृषक रमेश हमालले बताए। मूलहरू सुकेको हुँदा पानीको जोहो गरेर रोपाइँ गरिराखेका र रोपेका खेतमा धान सुक्न लागेको हमालले जानकारी दिए।

असार पहिलो हप्तामै डडेल्धुराका अधिकांश ठाँउहरूमा रोपाइँ सकिन्थ्यो। पानी नपर्दा अहिले सबै खेत रोप्न बाँकी रहेको कृषि ज्ञान केन्द्र डडेल्धुराले जनाएको छ। पानी नपर्दा खेत सुख्खा बनेका छन् भने धान रोपाइँ हुन सकेको छैन।

हालसम्म डडेल्धुरामा १० प्रतिशत खेतमा मात्र धान रोेपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । अझै ९० प्रतिशतमा रोपाइँ गर्न बाँकी रहेको कृषि ज्ञान केन्द्रका प्रमुख रामचन्द्र भट्टले जानकारी दिए। 

रोपेको धान पनि पानीको अभावका कारण सुक्न थालेकाे छ। किसानलाई रोपाइँ ढिलो हुँदा उत्पादन घट्ने चिन्ता पनि छ। सरकारले खेतीयोग्य जमिनमा सिँचाइको व्यवस्था मिलाउनु पर्ने स्थानीयले माग गरेका छन्। डडेल्धुरामा ६ हजार हेक्टरमा धान खेती गरिन्छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.