|
फाइल तस्वीर

बैतडी : बैतडीमा अझै पाठ्यपुस्तक पुग्न सकेका छैनन्। जेठ १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु भएको एक महिनाभन्दा बढी हुँदा समेत पाठ्यपुस्तक पुगेका छैनन्।

बैतडीका सामुदायिक विद्यालयहरूका लागि ८३ हजार पाठ्यपुस्तक आवश्यक भए पनि अहिलेसम्म ५० हजार मात्रै पाठ्यपुस्तक जिल्लामा पुगेका छन्। सबै पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको विद्यालयहरूले जनाएका छन्। विद्यार्थीले पनि विनापुस्तक पढाइ गर्नुपर्ने बाध्यता छ। 

विद्यालय खुलेको एक महिना भएको भए पनि अझै पनि पाठ्यपुस्तकको अभाव रहेको सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले बताए। नयाँ शैक्षिक सत्रको पढाइ सञ्चालनमा रहेको भए पनि सबै पाठ्यपुस्तक नपुग्दा समस्या भएको छ। उनले भने, ‘विद्यार्थी संख्याको आधारमा पाठ्यपुस्तक पुगेका छैनन्, पाठ्यक्रम हेरेर पठाउनुपर्ने बाध्यता छ।’

स्थानीय निर्वाचनका कारण पाठ्यपुस्तक छपाइमा ढिलाइ भएको जानकारी आएको र केही दिनमै जिल्लामा पाठ्यपुस्तक पुग्ने शिक्षा विकास तथा समन्वय एकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले जानकारी दिए। उनले भने, ‘कक्षा ७ र ९ को सबै पुस्तक अभाव छ, बाँकी पनि विद्यार्थी संख्याका आधारमा सबै पुस्तक पुगेका छैनन्। पाठ्यक्रम हेरेर पठनपाठन सञ्चालन गर्नुस् भनेर विद्यालयलाई भनेका छौं।’

बैतडीमा ५४० सामुदायिक विद्यालयहरू रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.