|

पर्वत : गत वर्ष भदौ १७ गते राति पहिरोले कुश्मा नगरपालिका–३ दुर्लुङमा एकै घरमा रहेको पाँच जनाको मृत्यु भयो। गत वर्षको वर्षायाममा योसहितका घटनामा १३ जनाले मृत्युवरण गरे। २०७७ सालमा पनि त्यही आसपास पहिरोमा परी नौ जनाको मृत्यु भएको थियो।

अघिल्लो वर्षका घटनाको आधार र मौसमविद्ले यस वर्ष बढी वर्षा हुन सक्ने सम्भावनाका कारण पर्वतमा रहेका तीन ओटै सुरक्षा निकायसहित जिल्ला प्रशासन कार्यालय पूर्वतयारीमा जुटेका छन्।

नेपाल प्रहरीको तयारी

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकी यो वर्ष भइरहेको वर्षा देख्दासाथ अघिल्लो वर्षका घटनाले चिन्तित बनाउने बताउँछन्। गत वर्षको विपद्को सूचना थाहा पाउँदा साथ रातभरि नै पहिरो खोतलेर बेपत्ताको खोजीमा लागेको र एकै घरका पाँच जनाको मृत्यु भएको घटना आँखामा घुमिरहेको बताउँछन्।

जोखिम उत्तिकै रहेकाले यस वर्ष आफूहरू वर्षापूर्व नै तयारी अवस्थामा रहेको डीएसपी बुढाथोकी बताउँछन्। अहिलेको मनसुनमा जिल्लाभर रहेका प्रहरी युनिटमा कार्यरत सबै प्रहरीलाई उच्च सतर्कताका साथ राखिएको र उनीहरू जति बेला जे पर्छ त्यो अनुसार उद्धारका लागि हिँडिहाल्ने तयारी अवस्थामा रहेका उनको भनाइ छ।

जुनसुकै वेला परिचालन हुन सक्ने गरी जिल्ला प्रहरी कार्यालयमा प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टोली र इलाका प्रहरी कार्यालय हुवासमा प्रहरी नायब निरीक्षकको कमाण्डमा १५ जनाको टोली विपद् उद्धार सामग्रीसहित तयारी अवस्थामा रहेको बुढाथोकीले बताए। जिल्लामा रहेका सम्पूर्ण प्रहरी एकाइलाई कुनै पनि स्थानमा कुनै पनि समयमा विपद्को सूचना प्राप्त हुनासाथ तत्कालै उपस्थित भएर उद्धार गर्नुका साथै तत्कालै यस कार्यालयमा खबर गर्न  प्रहरीले आग्रह गरेको छ।

मनसुनको अवधिभर अत्यावश्यक बाहेकका काममा प्रहरी अधिकृत तथा जवानहरूले पनि विदा नलिन निर्देशन दिइएको र प्रहरी युनिटमा रहेका विपद् उद्धार सामग्री तयारी अवस्थामा राखिएको उनले बताए। ‘जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट समेत पर्वतका सातवटै स्थानीय तहहरूको वडास्तरसम्म  उद्धार सामग्री खरिद गरी वडा कार्यालय वा सम्बन्धित प्रहरी एकाइहरूमा भण्डारण गरी तयारी अवस्थामा राखिएको छ।

अन्य सुरक्षा निकाय, रेडक्रस, अस्पतालसँग आवश्यक सल्लाह र समन्वय गरिसकिएको छ,’ डीएसपी बुढाथोकी भन्छन्, ‘जिल्लामा सञ्चालनमा रहेका सबै एम्बुलेन्सहरूको विवरण उठाएर तयारी अवस्थामा रहन भनिएको छ। विभिन्न सडक आयोजनाका एक्स्काभेटरको विवरण लिएर रहेका ठाउँको बारेमा पनि जानकारी लिइएको छ।’

सेनाको तयारी 

अघिल्लो वर्षको घाउ नबर्सिएको नेपाली सेनाले पनि यस वर्ष सकेसम्म क्षति नै हुन नदिन र भइहालेमा त्यसलाई कम गर्न सकेसम्मको तयारी अवस्थामा रहेको बताउँछ। नेपाली सेनाको नयाँ रणभीम दल गुल्म पर्वतका निमित्त गुल्मपति सह सेनानी महेश भट्टले विपद् प्रभावितको खोज, उद्धार तथा राहत प्रदानका लागि आवश्यक विपद्  व्यवस्थापनका सामग्री  र सवारीहरू सहित तत्कालका लागि ३० जना फौज तयारी अवस्थामा राखिएको बताए। उद्धारका लागि दैनिक जसो अनुशिक्षण र अभ्यासका काम भइरहेकोले आवश्यक परेको बेलामा थप जनशक्ति पनि तयारी अवस्थामा राखिएको उनले बताए। 

‘हामी र हाम्रो टोली २४ सै घण्टा तयारी अवस्थामा रहेका छौँ। मानवीय जीवनको रक्षा गर्ने तथा क्षतिन्यूनीकरण गर्ने कुरामा हामी हाइ अलर्ट अवस्थामा छौँ,’ सहसेनानी भट्ट भन्छन्, ‘मनसुनी घट्नालाई मध्यनजर गरी नेपाली सेनाको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला रेडक्रस सोसाइटी, जिल्ला विपद् व्यवस्थापन समिति र अन्य सरोकारवाला निकायसँगको समन्वयमा कृत्रिम उद्धार अभ्यास सञ्चालन गरिएको छ।’

जोखिमका ठाउँ अनुमान गरेर योजना बनाएका छौँ : एपीएफ

सशस्त्र प्रहरी बल नं. २५ गण पर्वतका गणपति सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बमले जिल्लामा प्राकृतिक जोखिमका सम्भावित ठाउँहरू छुट्टाएर उद्धारका लागि तयारी अवस्थामा रहेको बताए। 

विपदमा खटिनु पनि आफूहरूको प्रमुख दायित्वमध्येको एक भएकाले गणमा रहेका सबै जुनसुकै र जस्तोसुकै परिस्थितिमा पनि खटिन तयार रहेको उनको भनाइ छ। विगतका घटनालाई मूल्यांकन गर्दै यो वर्षको लागि केन्द्रको निर्देशन अनुसार हरेक दिन अनुशिक्षण र कृत्रिम अभ्यासको काम निरन्तर गरिरहेको पनि प्रहरी उपरीक्षक बम बताउँछन्।

‘घटना भएको ठाउँमा यति मिनेटमा पुग्छौँ भन्न त सकिँदैन तर इन्स्पेक्टर सावको कमाण्डमा रहने विपद्को विशेष प्लाटुन तुरुन्तै घटनास्थल प्रस्थान गर्छ। पर्वतका तीनै तहका सुरक्षा निकाय र प्रशासनको बिचमा निकै राम्रो समन्वय रहेका कारण पनि हामी सकेसम्म क्षति कम गर्न सक्षम हुने छौँ,’ उनले भने, ‘स्थानीय तहका सरकार र वडासम्म रहेका विपद् व्यवस्थापन समितिसँग सहकार्य गरेर उद्धारलाई चाँडो बनाउने काम गर्नेछौँ। यसमा प्रशासन र सबै सुरक्षा निकायको राम्रो सहकार्य भइरहेको छ।’ 

सशस्त्र प्रहरीले बाढी प्रभावित क्षेत्रको रूपमा दोबिल्ला, मालढुङ्गा, अर्मादी, देउपुर तिलाहार, भोर्ले, हुवास, सरौँखोला, त्रिवेणी, सेतीबेणी, लुङ्दी, लस्ती, वारी बेनी, शंकरपोखरी, ठानामौला, कार्कीनेटा, भँगरा, धाईरिङ, शालिजा, नाग्लीवाङ, बनौँ, पकुवा, देउराली, बाजुङ लगायतका ठाउँलाई राखेको छ। ती विन्दुमा जानबाटो, दूरी, तरिका लगायतका विषयमा पनि ब्रिफिङ दिनहुँजसो भइरहेको सशस्त्र प्रहरीले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.