प्रजातन्त्रमा सहमतिको नयाँ परिभाषा खोज्न आग्रह

|
फाइल

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रतिपक्षसँग संवादहीनताको अवस्थामा रहेको बताएका छन्।

अध्यक्ष ओलीले २०४६ सालको परिवर्तनपछि शेरबहादुर देउवा नेतृत्वको वर्तमान गठबन्धन सरकारले प्रतिपक्षसँग सबै विषयमा संवादहीनताको अवस्थामा पुर्‍याएको बताएका हुन्।

मंगलबार पूर्वराजदूतहरूको समूहले काठमाडौंमा आयोजना गरेको नेपालको परराष्ट्र मामिलाबारेको अन्तरसंवादमा बोल्दै उनले प्रधानमन्त्रीले विदेश भ्रमण गर्दा समेत कुनै परामर्श नगर्ने, सबै कुरा गोप्य राख्ने र प्रतिपक्षका विरुद्ध जाने खालका अप्गरजातान्तित्विरिक गतिविधिमा सरकार संलग्न भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे।

राष्ट्र र राष्ट्रियताको सवालमा, लोकतन्त्रको सवालमा कम्तीमा पनि दलहरूबीच राष्ट्रिय सहमतिका साथ अघि बढ्नुपर्ने अवस्थामा सरकारले त्यसो नगरिरहेको अध्यक्ष ओलीको भनाइ थियो। अध्यक्ष ओलीले प्रधानमन्त्री अन्तरराष्ट्रिय मञ्च वा विदेश भ्रमणमा जाँदा विगतमा प्रतिपक्षसँग, विज्ञहरूसँग छलफल हुने गरेको उल्लेख गर्दै वर्तमान सरकारले भने यो काम पनि गर्न नचाहेको आरोप लगाए।

‘यो सरकार बनेपछि संवादको वातावरण पनि छैन। कुनै परामर्श पनि नगर्ने र सबै कुरा गोप्य राखिने र प्रतिपक्षका विरुद्ध जाने खालका कुरा प्रजातन्त्रमा हुँदैन। यो संवादहीनताको स्थिति अरू थप कुरा म भन्न चाहन्नँ। प्रधानमन्त्री विदेश जानुअगाडि त प्रतिपक्षसँग त परामर्श हुन्थ्यो नै। त्यो त अनिवार्य नै कुरा हो', उनले भने, ' प्रतिपक्ष भनेको एउटा वैकल्पिक सरकार हो। सरकारमा जानका लागि तयारी शक्ति हो भनेर मानिन्छ। साथसाथै विज्ञहरूसँग परामर्श गर्ने हाम्रो चलन थियो।'

देशको प्रधानमन्त्री विदेश भ्रमणमा जानुअघि किन जाँदै छन् ? त्यहाँ गएर के के गर्छन् ? भन्ने कुरामा छलफल गरिन्थ्यो भन्ने गरेको सम्झना गरे।

तर यो सरकारले यी विषयमा कुनै छलफल नगरेको भन्दै अध्यक्ष ओलीले यो गम्भीर विषय रहेको बताए। 'प्रतिपक्षसँग छलफल गर्नैपर्छ भन्ने मेरो माग होइन। छलफल गर्नु हुन्न भने ठिकै छ', ओलीले भने, ' उसो भए प्रजातन्त्रमा सहमतिको नयाँ परिभाषा खोज्नुपर्छ।' अध्यक्ष ओलीले सरकारले प्रतिपक्षसँग कुनै परामर्श नगरेकोमा आफ्नो गुनासो भने नरहेको स्पष्ट पारे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.